सोमबार, असार २३, २०८२

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

नेपालखोज २०७९ मंसिर ७ गते १७:२८

डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् ।

डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको कालोपत्र र स्तरोन्नति, सिँचाइ र खानेपानीमा सबैको पहुँचका साथै गुणस्तरीय शिक्षा र बेरोजगारी तथा उद्योग, कलकारखाना निर्माणका लागि आशा गरेका छन् ।

साथै पर्यटकीय हबका लागि परशुराम, उग्रतारा, कोलासमैजी, गन्याप, भागेश्वर, डागेश्वरीसम्म धार्मिक पर्यटक भित्र्याउनका लागि होमस्टे निर्माण गरी धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने, आत्मनिर्भरताका लागि आधुनिक शिक्षा स्वास्थ्यको पहल गरी विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।

डडेल्धुराबाट सातौँ पटक निरन्तरका चुनाव जित्दै आएका देउवाले अब् युग सुहाउँदो विकासका लागि पहल गर्नुपर्ने अजयमेरु– १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोक्नका लागि उद्यमशीलतालाई जोड दिनुपर्ने र आधुनिक कृषिखेतीमा किसानलाई सहुलियत एवं अनुदानमा उनको जोड छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक बाह्र हजार चारसय ९२ मतान्तरले जित हासिल गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार कूल ५१ हजार दुई सय तीन मतमा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतमात्र प्राप्त गरेका थिए । अर्का उम्मेदवार नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत ल्याए । उनलाई नेकपा (एमाले) ले समेत समर्थन गरेको थियो ।

प्रतिक्रिया