सोमबार, असार २३, २०८२

‘यस पटकको निर्वाचनले लोकतन्त्र सुदृढीकरणको अर्काे चरणमा प्रवेश गर्‍यो’

नेपालखोज २०७९ मंसिर ७ गते २२:२३

काठमाडाैं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यस पटकको निर्वाचनले लोकतन्त्र सुदृढीकरणको अर्काे चरणमा प्रवेश गरेको अनुभूत भएको बताएका छन् ।

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), राष्ट्रिय निर्वाचन पर्यवेक्षण समति (नियोक) र दि एसिएन नेटवर्क फर फ्रि इलेक्सन(एनफ्रेल)द्वारा गरिएको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रमा उनले राजनीतिक दल र उम्मेदवारबीच निर्वाचनको संस्कार स्थापित हुँदै गएको उल्लेख गरे ।

पूर्वसचिव पोखरेलले भने, ‘समयमै निर्वाचन भई सत्ता हस्तान्तरण हुनु भनेका लोकतन्त्र सुदृढ हुनु हो । निर्वाचनको प्रक्रिया परिपक्वतातर्फ परिणत भएको छ, हामी चाहन्छाैँ आगामी दिनमा पर्यवेक्षणसमेत गर्न नपर्ने दिशातर्फ उन्मुख होस् ।’ नियोगका अध्यक्ष प्रा कपिल श्रेष्ठले निर्वाचनमा मतदाता परिपक्व र राजनीतिक दल एवं उम्मेदवारमा आचारसंहिता पालनामा सचेत र दृढ रहेको पाइएको बताए ।

उनले भने, ‘निर्वाचनको परिणाम अचम्म, रमाइलो र शिक्षाप्रद रहेको छ । निर्वाचनमा आयोगको व्यवस्थापन प्रभावकारी रहेको देखियो ।’ जियोकका महासचिव कृष्णमान प्रधानले आमरुपमा निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा भएको बताए । उनले भने, ‘यो निर्वाचनलाई धेरै हदसम्म सन्तोषजनक र सकारात्मकरुपमा लिएका छाैँ । निर्वाचनले हाम्रो लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व, सुदृढ, सवल र गतिशील बनाउन योगदान पुर्याउनेछ ।’

एनफ्रेलले निर्वाचन सुरक्षा, चुनावी वातावरण, मतदाताको पहुँच र सहभागितामूलक मतदान केन्द्र, मतदाता शिक्षा, मतगणना कार्यले स्वच्छ र स्वतन्त्र निर्वाचनको झल्को दिएको जनाएको छ । निर्वाचन पर्यवेक्षणमा रहेका ती संस्थाले विगतका तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त रहेको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छन् ।

प्रतिक्रिया