शुक्रबार, असार ६, २०८२

४२ खर्ब २४अर्ब नाघ्यो वाणिज्य बैंकहरुको कुल कर्जा

नेपालखोज २०७९ मंसिर १२ गते ११:२९

काठमाडौं । वाणिज्य बैंकहरुको कुल कर्जा रकम ४२ खर्ब २४ अर्ब ४५ करोड १० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम भने ४५ खर्ब ४८ अर्ब ५७ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुले यही असोज मसान्तसम्ममा कृषि क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम भने पाँच खर्ब १९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो भनेको वाणिज्य बैंकहरुको कुल कर्जा रकमको १२ दशमलव ३८ प्रतिशत हो, राष्ट्र बैंकका अधिकारीले भनेका छन् ।

वाणिज्य बैंकहरुले ऊर्जा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम भने दुई खर्ब ४५ अर्ब नौ करोड रुपैयाँ पुगेको छ । कर्जाको यो परिमाण भनेको वाणिज्य बैंकहरुको कुल कर्जाको पाँच दशमलव ८४ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा एक करोड भन्दा कम रकमका कर्जा तथा प्रत्यक्षरुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत गरी तीन खर्ब ९८ अर्ब २१ करोड अर्थात नौ दशमलव ४९ प्रतिशत कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया