शुक्रबार, असार २०, २०८२

कांग्रेस-माओवादीले समान ९ सिट जिते, अब को होला मुख्यमन्त्री ?

नेपालखोज २०७९ मंसिर १३ गते ११:००

काठमाडाैं । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै कर्णाली प्रदेश सरकार गठन , सत्ता गठबन्धनको भविष्य, प्रदेश सरकारको नेतृत्व तथा प्रदेशमा बन्न सक्ने सम्भावित समीकरणका बारेमा चर्चा चुलिएको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्ष निर्वाचन प्रणालि मार्फत निर्वाचित भैसकेका छन् भने १६ जना समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

समानुपातिक तर्फ एमालेले ५ , कांग्रेस ५ , माओवादी केन्द्र ४ , एकीकृत समाजवादी र राप्रपाले १/१ सिट हासिल गर्ने लगभग तय छ । समानुपातिक मत परिणाम अनुसार प्रत्यक्षमा चुनाव नजितेका एकीकृत समाजवादी तथा राप्रपाले पनि प्रदेश सभामा प्रतिनिधित्व पाउनेछन् ।

प्रत्यक्षका २४ सिटमध्ये कांग्रेस र माओवादी केन्द्रले समान अर्थात् ९/९ सिटमा जित हात पारेका छन् भने एमालेले ५ र स्वतन्त्र १ जना छन् । यो हिसाब अनुसार वर्तमान बाम – लोकतान्त्रिक गठबन्धनको सरकार बन्न कुनै गारो छैन् । चुनावी सभालाई सम्बोधन गर्न हुम्ला पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जिताएर पठाएमा जीवनबहादुर शाहीलाई नै मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

त्यसैले पनि हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले नै प्रदेश सरकारको दोस्रो कार्यकालको नेतृत्व गर्ने प्रवल सम्भावना छ । यद्यपि माओवादी केन्द्रबाट रुकुम पश्चिमका राजकुमार शर्मा तथा सुर्खेतका विन्दमान विष्ट समेत त्यहाँ मुख्यमन्त्रीका दाबेदार मानिदैछन् । कांग्रेसमै पनि मुख्यमन्त्री शाहीसँगै जाजरकोटका राजीवविक्रम शाह पनि प्रदेश सरकारका लागि दाबेदार मानिन्छन् ।

अहिलेकै गठबन्धनलाई अघि बढाउने सहमति भए कांग्रेस र माओवादीले आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति पनि गर्न सक्छन् । अहिलेको सत्ता साझेदारि कायम नरहे मात्र कर्णाली प्रदेश सरकार निर्माणमा एमालेको भुमिका रहन सक्छ अन्यथा एमालेको कुनै दाल गल्ने देखिदैन । अहिलेको अवस्था अनुसार केन्द्र देखि प्रदेश सम्म कांग्रेस र माओवादी त्यो बाटोतर्फ अग्रसर छैनन् ।

एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने दाबि गर्दै यामलाल कँडेललाई अघि बढाएको थियो । उनी एमालेको निवर्तमान प्रदेश सभा संसदीय दलको नेता तथा संघिय सरकारका पुर्व मन्त्री हुन ।

अहिले प्रदेशका कांग्रेस – माओवादी नेताहरु केन्द्रको निर्णय र भाबि रणनीति कुरेर बसेका छन । केन्द्रमा गरिने सहमति र बन्ने गठबन्धनले नै प्रदेश सरकारको रुपरेखा तय गर्ने हुनाले स्थानीय नेताहरुले केही समय कुर्नैपर्नेछ ।

हुनत कर्णाली प्रदेशसभाको संरचनाले सबै सम्भावनाको ढोका खुला राखेको छ । त्यहाँ कांग्रेस–माओवादी, एमाले–माओवादी , कांग्रेस–एमाले जोकसैको सरकार बन्न सक्छ । यो कुराको छिनोफानो भने केन्द्रिय सरकार बनेपछि मात्र प्रष्ट हुनेछ । एमाले प्रदेश इञ्चार्ज एवं सुर्खेत २ (१) का नवनिर्वाचित प्रदेश सभा सदस्य यामलाल कँडेलले आफू निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाइ प्रतिक्रिया दिँदै भनेका थिए – सत्ता गठबन्धन दलहरु कसरी अगाडि बढ्छन् धेरै कुरा त्यसमै निर्भर रहन्छ, अहिले नै हामी अनावश्यक चासो दिँदैनौँ ।

माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा बाम – लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने कुरा बताइसकेकि छिन् । ‘केन्द्रमा अहिलेकै गठबन्धनको सरकार बन्ने कुरा छ, प्रदेशमा पनि हामीसँग पर्याप्त बहुमत छ’, उनले भनेकि छिन्, ‘दलका नेता कसलाई अघि सार्ने भन्ने विषयमा पार्टीले प्रदेश सभा सदस्यहरूको राय सुझाव लिएर एउटा धारणा बनाउँछ ।’

प्रतिक्रिया