बिहीबार, असार १९, २०८२

समानुपातिकतर्फको मतगणना आज सकिने

नेपालखोज २०७९ मंसिर २० गते ७:०१

काठमाडाैं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आज मङ्गलबार सकिने छ । प्रत्यक्षतर्फको मतगणना हिजै सम्पन्न भैसकेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ३० हजार ४ सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा – २, दोलखा तथा बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।

निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८ हजार ८ सय ५० रहेकोमा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (१ करोड लाख ७३ हजार २७) मत खसेको जनाइएको थियो ।

प्रतिक्रिया