पश्चिमाहरुको ‘कतार विश्वकप पूर्वाग्रह’

काठमाडौं । यो साता कतारमा विश्वकप फुटबलको फाइनल खेल हुनेछ र यसबाट विश्वकप – २०२२ को बिजेताको घोषणा हुनेछ । यद्यपि गएको डेढ महिनाभन्दा बढी समयदेखि पश्चिमा सञ्चारमाध्यमहरूको ध्यान खेलकुदमा छैन ।
सीएनएन, वासिङ्टन पोस्ट लगायत अन्य संचारमाध्यमहरूले तथाकथित श्रम समस्यामाथि प्रश्न उठाइरहेका छन्। यहि सिलसिलामा बीबीसीले विश्वकपको उद्घाटन समारोह नै प्रसारण गरेन। लन्डनले सार्वजनिक यातायात प्रणालीमा विश्व कपका विज्ञापनहरू प्रकाशन गर्न प्रतिबन्ध लगाएको समाचार जताततै फैलियो ।
वस्तुनिष्ठ र तटस्थ भएको दाबी गर्ने यी पश्चिमी सञ्चारमाध्यमहरूले कतारको विश्वकप आयोजनाको समर्पणलाई बेवास्ता गरेका छन् । विश्व उथलपुथलको सन्दर्भमा फुटबलले ल्याएको एकता र उपल्लो शक्तिलाई बेवास्ता गर्दै खेलकुदबाट बनेको एकताको आगोमा चिसो पानी खन्याउने काममै ब्यस्त र मस्त देखिए यसपटक पश्चिमा मिडियाहरु । उनीहरूले खेलकुद माथि टेकेर राजनीति गरिरहे भने त्यस बिच विश्वभरका खेल प्रशंसकहरू विपरीत ध्रुवमा उभिए ।
विश्वकप फुटबल आयोजना गर्ने कतार नै पहिलो अरब राष्ट्र हो तर, विश्वकप आयोजना गर्न आवेदन दिएदेखि नै पश्चिमाहरूले विनाकारण त्यसको आलोचना गरिरहेका छन्। पश्चिमी मिडियाको प्रदर्शन लगभग उस्तै छ, तिनीहरूका पछाडि गैरपश्चिमी संसारविरूद्ध वैचारिक पूर्वाग्रह र जातीय भेदभावको भावनाले गहिरो जरा गाडेको छ।
कतारका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री मोहम्मदले पश्चिमा सञ्चारमाध्यमहरुको आलोचना समेत गरे । उनलेले भनेका छन – ‘केही मानिसले साना मध्यपूर्वी देशले विश्वव्यापी कार्यक्रम आयोजना गर्नुलाई सहज रुपमा लिन सक्दैनन् । पश्चिमी केन्द्रियताको पाखण्ड यसैबाट झल्किन्छ।’ मानिसहरूले सोध्नुपर्दछ, यदि अमेरिका र पश्चिमा मुलुकले अरब देशहरूमा श्रम अधिकार जस्ता मानव अधिकारको साँच्चै ख्याल राख्छन् भने उनीहरूले किन मध्यपूर्वमा युद्ध भड्काइरहेका छन् र मध्यपूर्वमा ठूलो मानवीय प्रकोपहरू सिर्जना गरिरहेका छन् ?
कतारले यो विश्वको शीर्ष खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गर्यो, संसारमा खुशी र उत्साह ल्यायो। अझ दुर्लभ कुरा के भने कतारमा भएको विश्वकपले विश्वलाई पश्चिमी रिपोर्टहरूको पूर्वाग्रहमुक्त वास्तविक र रंगीन अरब संसार देखाएको छ। अनिश्चितताले भरिएको आजको संसारमा ताजा र सकारात्मक ऊर्जा थपेको छ।
सिआरआइ नेपाली सर्विसको सम्पादित अंश
प्रतिक्रिया