विश्वकप -२०२२ : सेमिफाइनल अघिका चार प्रश्न

काठमाडौं । विश्वकप -२०२२ को सेमिफाइनलको उत्सुकतापूर्वक प्रतीक्षामा केही कुरा कुरा महत्त्वपूर्ण छन् । शनिबार फ्रान्ससँग पराजित भएपछि इंग्ल्याण्डको विश्वकप जित्ने सपना समाप्त भएको छ ।
यता कतारमा अझै चार देस डेरा जमाएर बसेका छन् – अर्जेन्टिना , क्रोएसिया , फ्रान्स र मोरक्को र यी सबैको नजर यो हप्ता हुने विश्वकप ट्रफीको अन्तिम खेलमा छ । यी चार देस सेमिफाइनल पुग्ने अनुमान गरिएको हुन सक्छ तर आगामी केही खेलमा उतारचढाव पनि आउन सक्छ ।
के मेस्सीले यसपटक चमत्कार गर्न सक्छन् ? सेमिफाइनलको सबैभन्दा ठूलो प्रश्न यहि हो। के अर्जेन्टिनाका यी सुपरस्टारले पहिलो पटक विश्वकपको उपाधि जित्न सक्छन् ? मेस्सीको करियर उत्कृष्ट छ । उनले हालसम्म १० स्पेनिस लिग, ४ च्याम्पियनसिप लिग तथा २०२१ को कोपा अमेरिकाको उपाधि जितेका छन्। यसबाहेक उनले कीर्तिमानी सात पटक बालोन डी’ओर अवार्ड समेत जितेका छन् । यो अवार्ड हरेक वर्ष विश्वकै उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिन्छ ।
यद्यपि ब्राजिलका पेले तथा अर्जेन्टिनाका डिएगो म्याराडोनाजस्तै ३५ वर्षीय मेस्सीले अहिलेसम्म कुनै पनि विश्वकप जितेका छैनन् । अर्जेन्टिनाले फिफा विश्वकप जितेको ३६ वर्ष पूरा भएको छ । हो, मेस्सीको नेतृत्वमा अर्जेन्टिना २०१४ को विश्वकपको फाइनलमा पुगेको थियो । यसअघि म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो । के मेस्सीले पनि म्याराडोनाले जस्तै आफ्नो देसलाई विश्वकप जिताउन सक्लान् ? प्रश्न अनुत्तरित छ र यसको जबाफ भने चाडैं पाइनेछ ।
इतिहास रचेको मोरक्कोले फेरि उलटफेर गर्ला ? यो विश्वकपमा मोरक्कोले इतिहास रचेको छ । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देस हो । चेल्सी क्लबका हाकिम जियेच तथा पेरिस सेन्ट जर्मेनका अशरफ हाकिमीलगायतका अनुभवी र उच्च स्तरका खेलाडीहरूका कारण मोरक्को प्रतियोगिताको सेमिफाइनलमा पुग्यो ।
बलियो डिफेन्स र मैदानमा कडा मेहनत गरेकाले मोरक्कोले यो सफलता हासिल गरेको हो । कतार विश्वकपमा अहिलेसम्म विपक्षीका कुनै पनि खेलाडीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैनन् । मोरक्कोले क्यानाडा विरुद्ध एउटा आत्मघाती गोल मात्र खाएको छ । मोरक्को यो सम्पूर्ण प्रतियोगितामा फुटबल प्रशंसकहरूको सबैभन्दा मनपर्ने टिम मध्ये एक भएको छ।
यो विश्वकप कतारका लागि मात्र नभई मध्यपूर्व क्षेत्र र मुस्लिम समुदायका लागि पनि विशेष महत्वको भएको आयोजकहरुको भनाइ छ । त्यसो भए के भोलि हुने खेलमा मोरक्कोसँगै खुसियाली मनाउन पाइनेछ ? अर्को प्रश्न छ , के फ्रान्स लगातार दुई पटकको विजेता बन्न गैरहेको हो ? फ्रान्सेली टिम ब्राजिलले ६० वर्षअघि सन् १९६२ मा लगातार दोस्रो पटक विश्वकप जितेर हासिल गरेको उपलब्धि आफ्नो नाममा पनि लेखाउने प्रयासमा छ ।
पछिल्ला वर्षहरूमा विश्वविजेता टिमहरू आफ्नो उपाधि जोगाउन संघर्ष गरिरहेका पाइए । विगत १२ वर्षयता उपाधि जितेका स्पेन र जर्मनी जस्ता टिम यो विश्वकपबाट बाहिरिसकेका छन्, तर त्यसको उल्टो फ्रान्स भने प्रतियोगितामा कायमै छ ।शनिबार इंग्ल्यान्डलाई जित्नु भनेको फ्रान्सका लागि चानचुने कुरा थिएन किनभने उनिहरु दुबै यसपटकको विश्वकपको प्रवल दाबेदार थिए र त्यो क्वाटरफाइनल फाइनल भन्दा कम थिएन ।
अर्को प्रश्न छ – के क्रोएसिया फेरि फाइनल खेल्दै छ ? यदि फ्रान्सले मोरक्कोलाई हराए र क्रोएसियाले अर्जेन्टिनालाई प्रतियोगिताबाट बाहिर गरे २०१८ को फाइनल फेरि दोहोरिन सक्छ । यो प्रतियोगितामा धेरै उतारचढावपछि क्रोएसियाले अन्तिम चारमा स्थान बनाएको छ । चार वर्षअघि डेनमार्क र रुसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फाइनलमा पुगेको थियो । यसपटक पनि जापान र ब्राजिलसँग पेनाल्टी सुटआउट खेल्दै क्रोएसिया सेमिफाइनलमा पुगेको छ ।
क्रोएसियाले विश्वकपको नकआउट खेल ९० मिनेटमा जितेको २४ वर्ष पूरा भएको छ । त्यसपछि उसले क्वार्टरफाइनलमा जर्मनीलाई ३–० ले हराएको थियो । क्रोएसियाका कप्तान लुका मोड्रिच ३७ वर्षका भैसकेकाले यो वर्षको मेहनत उनका लागि अझ ऐतिहासिक छ । अतिरिक्त मिनेट खेल्नुका अतिरिक्त, लुका अझै पनि पहिले जस्तै उत्कृष्ट खेल देखाउँदै छन्। २०१८ को विश्वकपमा क्रोएसियासँग ३–० ले पराजित भएको अर्जेन्टिनाले यो खेलमा क्रोएसियालाई कम आँकलन गर्ने गल्ती पक्कै दोहोर्याउने छैन ।
प्रतिक्रिया