मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपको तेस्रो स्थानमा

काठमाडाैं । मोरोक्कोलाई शनिबार २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ ।
कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले हेडर गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । यद्यपि क्रोएसियाको यो अग्रता धेरैबेर टिक्न पाएन । त्यसको अर्को मिनेटमै अक्रफ दारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा पुर्याए र त्यो पनि हेडर गोल नै थियो ।
पहिलो हाफको समय सकिन तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै पुन: क्रोएसियालाई अग्रता दिलाए र त्यहि गोल नै निर्णायक साबित भयो । दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा मोरक्कोले बराबरी गोलका लागि ठूलै संघर्ष गरे पनि गोल फर्काउन सकेन ।
खेलभरिमा क्रोएसियाले ५१ प्रतिशत बल पोसेसन राख्दा जम्मा १२ पटक सट प्रहार गरेकोमा उसका ४ सट अन टार्गेट थिए । उता, मोरक्कोले ४९ प्रतिशत पोसेसन राख्दा ९ सट हानेकोमा २ सट अन टार्गेट थिए ।
विश्वकपको इतिहासमा क्रोएसियाले दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो ।
यसअघि क्रोएसियाले सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो जुन विश्वकपमा क्रोएसियाको पहिलो सहभागिता समेत थियो । क्रोएसिया विश्वकपको पछिल्लो संस्करणको फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएपछि उपविजेता भएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा पराजित मोरक्कोका लागि यो विश्वकप ऐतिहासिक र सम्झनायोग्य रह्यो । किनभने, विश्वकप फुटबलको इतिहासमा मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्दै इतिहास रच्यो । त्यत्ति मात्र होइन, मोरक्को यो विश्वकपमा ‘अन्डरडग’ टिमका रूपमा पनि उदायो । यो विश्वकपमा उसले विश्व फुटबलका तीन ठूला पावर हाउस राष्ट्रहरूलाई हरायो । सेमिफाइनल खेलमा मोरक्को फ्रान्ससँग २-० ले र क्रोएसिया अर्जेन्टिनासँग ३-० पराजित भएका थिए ।
प्रतिक्रिया