फ्रान्स र अर्जेन्टिना फुटबल मैदानमा १२ पटक आमने-सामने

काठमाडौं । फिफा विश्वकपको फाइनल विश्वमा सबैभन्दा धेरै हेरिने घटनाहरू मध्ये एक हो । सन् २०२२ फिफा विश्वकपको फाइनल खेल आइतबार लुसेल रंगशालामा हुनेछ । यो खेलमा २ पटकको च्याम्पियन अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्नेछ । फ्रान्सले पनि दुई पटक विश्वकप जितेको छ अर्थात् यो पटक ट्रफी जित्ने देसका लागि यो तेस्रो उपाधि हुनेछ । अर्जेन्टिनाका कप्तान तथा अनुभवी खेलाडी लियोनल मेस्सीका लागि यो विश्वकपको अन्तिम खेल पनि हुनेछ ।
अर्जेन्टिना र फ्रान्स अहिलेसम्म एकदर्जन पटक फुटबल मैदानमा भिडिसकेका छन् । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले तीन खेल मात्र जितेको छ भने तीनमा बराबरी गरेको छ । यी दुईबीचको पहिलो खेल सन् १९३० मा आयोजित पहिलो विश्वकपमा भएको थियो । उक्त खेल अर्जेन्टिनाले १-० ले जितेको थियो । अर्जेन्टिनाविरुद्ध फ्रान्सको पहिलो जित सन् १९७१ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भएको थियो। उक्त खेल फ्रान्सले ४-३ ले जितेको थियो ।
फ्रान्स र अर्जेन्टिनाबीचको अर्को खेल १५ जुलाई १९३० मा भएको थियो जसमा अर्जेन्टिना १-० ले विजयी भएको थियो भने ३ जुन १९६५ मा भएको खेल ०-० को बराबरीमा सकिएको थियो । ८ जुन १९७१ मा भएको खेल फ्रान्सले ४-३ ले जितेको थियो । यसैगरी १२ जनवरी १९७१ मा भएको खेल अर्जेन्टिनाले २-० ले जितेको थियो । २५ जुन १९७२ मा खेलिएको फ्रान्स र अर्जेन्टिनाबीचको अर्को खेल ०-० को बराबरीमा सकिएको थियो । १८ मे १९७४ मा अर्जेन्टिनाले १-० ले खेल जित्दा २६ जुन १९७७ को खेल ०-० को बराबरीमा सकिएको थियो । ६ जुन १९७८ मा भएको खेल अर्जेन्टिना २-१ ले जितेको थियो । उता २६ मार्च १९८६ मा भने फ्रान्सले अर्जेन्टिनालाइ २-० ले पराजित गरेको थियो । ७ फेब्रुअरी २००७ मा खेलिएको खेल १-० ले अर्जेन्टिनाको पक्षमा गएको थियो । ११ फेब्रुअरी २००९ मा पनि अर्जेन्टिनाले फ्रान्सलाइ २-० ले पराजित गर्यो जबकि ३० जुन २०१८ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो ।
फ्रान्सले जितेको थियो अन्तिम खेल : २०१८ मा यी दुई मुलुक बीचको भिडन्तमा फ्रान्सले ४-३ को जित निकालेको थियो । त्यो एक्काइसौं विश्वकपको प्रि-क्वार्टरफाइनल खेल थियो जसमा फ्रान्सका लागि केलियन एमबाप्पेले दुई गोल गरेका थिए । उनी यसपटक पनि फ्रान्सेली टिममा छन् । उनले प्रतियोगितामा ५ गोल समेत गरिसकेका छन् । उक्त खेलमा मेस्सीले कुनै गोल गर्न सकेनन् । यद्यपि यसपटक मेस्सी उत्कृष्ट लयमा देखिएका छन । यस्तो अवस्थामा फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया