नेपाल टी–२० लिग ८ गते शुक्रबार देखि

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी–२० प्रतियोगिता भोली शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त यो टी–२० फ्रेन्चाइज लिग १० जनवरीसम्म चल्नेछ भने यसमा ६ वटा टिम सहभागी हुनेछन् ।
यो लिगमा विराटनगर सुपर किङ्स , लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स काठमाडौं नाइट्स, जनकपुर रोयल्स तथा फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्दैछन्।
फ्रेन्चाइज क्रिकेट लिगको यो पहिलो संस्करणका लागी ६७ जना नेपाली खेलाडी छनोट भएका छन। जस अनुसार क्याटेगोरी ‘ए’मा रहेका खेलाडीले १५ लाख, ‘बी’का खेलाडीले १० लाख र ‘सी’का खेलाडीले पाँच लाख पारिश्रमिक प्राप्त गर्नेछन्।
क्यानले नेपाली खेलाडीबाहेक हरेक फ्रेन्चाइज टोलीले कम्तीमा पाँच विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउने प्रावधान बनाएको छ। जसअनुसार विराटनगर सुपर किंग्स तथा जनकपुर रोयल्सले ६-६ जना विदेशी खेलाडी भित्रायाएका छन्। फार वेस्ट युनाइटेडले ५ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ।
यसैगरि जनकपुर रोयल्सले वेस्ट इन्डिजका खेलाडी ट्रेभोन ग्रिफिथको कप्तानीमा आफ्नो टिम निर्माण गरेको छ।
जनकपुरको प्रशिक्षक नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक उमेश पटवाल हुन्। लुम्बिनीका मुख्य प्रशिक्षकमा इंग्ल्यान्डका पिटर ट्रेगो तथा प्रशिक्षक मनोज कटुवाल नियुक्त गरिएका छन् । पोखराले सामसङजंग थापालाई प्रशिक्षकको जिम्मेवारी दिएको छ।
प्रतिक्रिया