‘सेवाग्राहीलाई झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ’

तुलसीपुर । सेवाग्राहीसँग मीठो बोली, सम्मानजनक व्यवहार र छिटो सेवाप्रवाह । यही विशेषताले लोकप्रिय छवि छ– दाङ राप्ती गाउँपालिका । गाउँपालिकामा गएपछि सेवाप्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री वातावरण दिइन्छ । सेवाग्राहीसँग झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूले मात्रै होइन, पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलाई सेवाग्राहीमा गरिने व्यवहार परिवर्तन भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।
‘हाम्रो एउटा काम भनेको प्रभावकारी सेवाप्रवाह हो’, उनले भने, ‘हामीले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न बोली वचनमा सुधार गरेका छौँ ।’ सेवग्राही बोलीबचनले पनि धेरै खुसी हुने भन्दै सुरुवातीमा सबैको बोली, बचनमा सुधार गरेको उनको भनाइ थियो । स–साना कुरा सुधार गरेमा त्यसले ठूलो उपलब्धि हासिल गर्ने बताए ।
‘पहिले हाम्रो व्यवहार परिवर्तन गर्नुपर्छ’, उनले भने, ‘विकास आफैँ हुन्छ’, सडक, विद्युत्मात्रै विकास नभएको भन्दै सुशासनयुक्त, सभ्य, मर्यादित र स्वस्थ समाज निर्माण गर्नु पनि विकास भएको पालिका अध्यक्ष विष्टको भनाइ छ । पालिकाले सुरुआतमै विद्यालय क्षेत्रभित्र जङ्कफुडमा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । त्यो निर्णयको चौतर्फी स्वागत भयो । सरकारी तथा गैरसरकारी कार्यालयमा कोल्ड ड्रिङ्स, प्लास्टिकका खादा र मालामा पनि प्रतिबन्ध लगाइयो । यसको उद्देश्य नागरिकको स्वास्थ्यमा सुधार ल्याउने र स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु रहेको अध्यक्ष विष्टले बताए ।
अहिले विद्यालयमा जङ्कफुड पनि प्रयोग हुँदैन भने प्लास्टिकका खादा, माला केही पनि प्रयोग हुँदैनन् । जङ्कफुड नियन्त्रण अभियानका लागि भास्कर तेजश्री प्रतिष्ठानसँग सहकार्यका लागि पनि प्रक्रिया अगाडि बढाइएको अध्यक्ष विष्टले बताउनुभयो । राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानमा संरचना निर्माणदेखि व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
अध्यक्ष विष्टका अनुसार राप्ती गाउँपालिका–३ स्थित प्राविधिक शिक्षालयलाई स्थानान्तरण गरेर त्यहाँका संरचना निर्माणमा समन्वय गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । संरचना निर्माणपछि अहिले स्थायी राजधानी नै राप्ती उपत्यका (भालुवाङ) आएको छ । गाउँपालिकाले मन्त्रालयका भवन भाडामा खोज्नेदेखि लिएर सांसदलाई कोठाभाडा खोज्ने काम पनि भएको छ । त्यसको समन्वय पनि कार्यापालिका बैठकबाट निर्णय गरेर राप्ती गाउँपालिकाले नै गरेको छ । रासस
प्रतिक्रिया