सोमबार, असार ९, २०८२

लकडाउन खुकुलो बनाउन मोडालिटी बनाउदै सरकार

नेपालखोज २०७७ वैशाख १८ गते ७:५४

काठमाडौं । सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनालगायत कार्यदलमा सहभागी अधिकारीहरू लकडाउनको मोडालिटी निर्माणमा खटिएका छन् । वैशाख २५ सम्म संक्रमितको अवस्था र संक्रमित रहेका जिल्लाको वस्तुस्थिति विश्लेषण गरेर नयाँ रणनीति बनाउने गरी गृहकार्य थालिएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीले पनि वैशाख २५ पछि कुन किसिमले अघि बढ्ने भन्नेमा लकडाउनका ३र४ वटा मोडालिटीमा छलफल सुरु गरिएको बताए ।

‘वैशाख २५ सम्म कोरोना रोग रोकथाम तथा नियन्त्रणका प्रयास कुन तहसम्म पुग्छ, त्यसलाई सूक्ष्म अध्ययन गरेर सम्भावित विकल्पबारे छलफल थालेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘अहिले नै आन्तरिक छलफल र प्रस्तावबारे सार्वजनिक रूपमा बोल्नु त्यति उपयुक्त नहोला तर हामी जोखिम रहेका र नरहेका क्षेत्रमा अब कुन किसिमको रणनीति अपनाउने भन्नेमा चाहिँ सूक्ष्म छलफलमा जुटिसकेका छौं ।’

सम्भावित अवस्थाको आकलनका आधारमा तय गरिएका कार्ययोजना अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । पछिल्लो लकडाउनको समयसीमा सकिनुअगावै कार्यदलले अघि सारेका मोडालिटी उच्चस्तरीय समिति र सीसीएमसी हुँदै मन्त्रिपरिषद्मा पेस हुनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया