पेले : जादुमय सीपका लेजेन्ड

काठमाण्डौं । विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे । खेलका राजा मानिएको फुटबलमा अलौकिक कला प्रदर्शन गरेर विश्वमाझ आफू मात्र चिनिएनन्, ब्राजिललाई समेत चिनाए ।
पेलेले आफ्नो खेलकुद जीवनमा अद्वितीय कीर्तिमानी राखेका छन् । उनले खेलेका १ हजार ३ सय ६३ खेलबाट १ हजार २ सय ८१ विश्व कीर्तिमानी गोल गरे । ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरेका उनले न्युयोर्क कसमासमा पुगेर पूर्णविराम लगाए ।
१५ वर्षको उमेरमै सन् १९५६ सेप्टेम्बर ७ मा सिनियर टिमबाट डेब्यु गरिसकेका उनले कोरिनथिएन्सविरुद्धको पहिलो खेलमा एक गोल पनि गरे । त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन् १९५७ को जुलाई ९ मा उनले ब्राजिलका लागि डेब्यु गरेका थिए, त्यो पनि अर्जेन्टिनाविरुद्ध‚ अझ त्यो पनि प्रसिद्ध माराकाना स्टेडियममा । त्यति बेला उनी जम्मा १६ वर्षका थिए।
पेलेको प्रसिद्धि भने सन् १९५८ को विश्वकपबाट सुरु भएको हो । स्विडेनमा भएको त्यस विश्वकपमा ब्राजिल च्याम्पियन रह्यो । फाइनलमा ब्राजिलले स्विडेनलाई ५–२ ले हराएको थियो । भर्खर १७ वर्षका किशोर खेलाडी पेलेले त्यस फाइनलमा दुई गोल गरे । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा पनि पेले प्रमुख खेलाडी थिए । उनको वास्तविक ख्याति भने सन् १९७० को विश्वकपबाट प्राप्त भएको थियो । मेक्सिकोमा भएको त्यस विश्वकपमा ब्राजिल फेरि एकपल्ट च्याम्पियन भयो ।
फाइनलमा ब्राजिलले इटालीलाई हराएको थियो । त्यसमा पनि पेलेले सुरुमै गोलको खाता खोलेका थिए । यही विश्वकपबाट विश्व फुटबलमा १० नम्बर जर्सीको महत्व र ख्याति बढेको थियो । खेल जीवनमा जादुमय खेल प्रदर्शन गरेका उनको विहिबार ८२ बर्षको उमेर निधन भयो । उनको यो निधनले फुटबलप्रेमीलाई दुखि बनाएको छ ।
प्रतिक्रिया