पेले : फुटबलका भगवान

काठमाण्डौँ । ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेले २१ वर्ष लामो फुटबल करियरमा १३६३ खेलमा १ हजार २ सय ८१ गोल गर्ने विश्व कीर्तिमान राखेका छन् । तीन पटक विश्वकप जित्ने एकमात्र फुटबल खेलाडी पेले सन् १९५८, १९६२ र १९७० को विश्वकप जित्ने ब्राजिलीयन टिममा थिए । उनी सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरीबाट सम्मानित भएका थिए ।
गत वर्ष सेप्टेम्बरमा उनको आन्द्राको शल्यक्रिया गरी ट्युमर निकालिएको थियो । उनको साओ पाउलोस्थित आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । उनको नियमित परीक्षणमा उक्त ट्युमर पत्ता लागेको थियो । उनलाई २०२२ कै नोभेम्बरमा पुनः अस्पताल भर्ना गरिएको थियो । पुनः अस्पताल भर्ना भएपछि उनकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जालमार्फत पेलेका प्रशन्सकहरूलाई निरन्तर अपडेट दिइरहेकी थिइन् ।
बिहीबार, उनले अस्पतालमा पेलेको शवमा हात समातेको परिवारको फोटो पोस्ट गर्दै लेखेकी छिन्, “हामी जो हौं उहाँ कै कारण छौँ, बुबालाई धेरै धेरै धन्यवाद । हामी तपाईंलाई धेरै माया गर्छौं । तपाईंको आत्माले चिर शान्ति पाओस् ।“ पेलेको मृत्युको जानकारि दिदै अस्पताल व्यवस्थापनले भनेको छ, “मल्टी अर्गन फेल भएका कारण उनको मृत्यु भएको हो । उहाँमा कोलोन क्यान्सरको संक्रमण बढ्दै गएको थियो ।“
ब्राजिलको पहिचान पेले :
पेलेको आधिकारिक ट्विटर खातामा लेखिएको छ, “पेले सर्वकालिन महान् खेलाडी मात्र थिएनन्, उनी त्योभन्दा धेरै थिए । हाम्रो फुटबलका राजा ब्राजिलको सबैभन्दा ठूलो प्रतीक हुनुहुन्थ्यो । उहाँ कठिनाइहरूबाट कहिल्यै डराउनुभएन । उहाँले आफ्नो बुबा सँग विश्वकप जितेर ल्याउने वाचा गरेका थिए । नभन्दै उनले ब्राजिललाई तीनवटा विश्वकप दिए । उनले ब्राजिललाई नयाँ ब्राजिल दिए र फुटबललाइ नयाँ विरासत दिए ।“
एडसन एरान्टेस डो नासिमेन्टो अर्थात् पेले १७ वर्षको उमेरमा फुटबल स्टार बनेका थिए । उनले ब्राजिललाई १९५८ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले क्वार्टरफाइनलमा वेल्सविरुद्ध जितको एक मात्र गोल गरेका थिए। पेलेले सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक गरेका थिए भने फाइनलमा स्वीडेनविरुद्ध दुई गोल गरेका थिए । पेलेले १५ वर्षको उमेरमा सान्तोस क्लबबाट आफ्नो फुटबल करियर सुरु गरेका थिए । उनले डेब्यु खेलमा नै पहिलो ल्याप गरेका थिए । त्यसपछि, उनले अर्को १९ वर्षसम्म एउटै क्लबबाट खेलिरहे र कुल ६ सय ४३ गोल गरे । यद्यपि यो सधैं सान्तोस क्लब तर्फ दावी गरिएको छ कि उनले क्लबको लागी एक हजार भन्दा बढी गोल गरे । यसमा प्रदर्शनी खेलहरूमा गरिएका गोलहरू पनि समावेश छन् ।
तीन विश्वकप जितेको करिश्मा :
ब्राजिलियन फुटबल कन्फेडेरेसन र सान्तोसले पेलेले १३६७ खेलमा १२८३ गोल गरेको दाबी गरेका छन् भने पेलेले १३६६ खेलमा १२८१ गोल गरेको फिफाको दाबी छ । १९६२ को विश्वकपमा पेले २१ वर्षका भएका थिए । मेक्सिको विरुद्धको पहिलो खेलमा उनले उत्कृष्ट गोल गरेका थिए तर अर्को खेलमा चोट लागेपछि उनले बेन्चमा बस्नुपरेको थियो । यद्यपि गारिन्चाको उत्कृष्ट प्रदर्शनका कारण ब्राजिल उपाधि रक्षा गर्न सफल भयो ।
सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकपमा उनले खास केही गर्न सकेनन् तर १९७० मा उत्कृष्ट पुनरागमन गर्दै आफ्नो देसलाई च्याम्पियन बनाए । इटालीविरुद्धको फाइनलमा ४–१ को जितमा पेलेले ब्राजिलको पहिलो गोल गरेका थिए । २०२० मा उनलाई बीबीसी स्पोर्ट्स पोलमा सबैभन्दा महान खेलाडीको रूपमा मतदान गरियो । उनको निधनमा विश्वभरका दिग्गज फुटबलरहरुले आफ्नो प्रतिक्रिया दिएका छन् । यहि महिना विश्वकप जितेका लियोनल मेस्सीले पेलेसँगको आफ्नो तस्बिर सेयर गर्दै लेखेका छन्, ’रेस्ट इन पिस पेले ।’
यसै क्रममा वर्तमानका अर्का उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोले लेखेका छन्, “पेले लाखौं मानिसका लागि प्रेरणा हुन्। उनको उदाहरण हिजो पनि दिइयो, आज पनि दिइन्छ र सधैं दिइनेछ। टाढाबाट पनि उनले सधैं मेरा लागि स्नेह देखाए।“ “जब हामी भेट्यौं, हामि बिचको स्नेह अपार थियो । म उहाँलाई कहिल्यै भुल्ने छैन । उहाँको सम्झना हामी फुटबल प्रेमीहरूमा सदैव रहनेछ ।“
ब्राजिलका स्टार नेयमारले इन्स्टाग्राममा लेखेका छन्, “मैले कतै पढेको थिएँ – पेले अघि १० नम्बर मात्र एउटा अंक थियो । पेले लगाउने १० नम्बरको जर्सिले यो अंकलाइ फरक नाम र परिचय दियो । यो भनाइ राम्रो तर अपूर्ण छ । म यसमा थप्न चाहन्छु – पेले अघि फुटबल एउटा सुस्त खेल थियो । पेलेले त्यसमा गति, कला र मनोरञ्जन भरे वा थपे ।“
प्रतिक्रिया