सोमबार, असार ९, २०८२

सतर्कता नपनाइँदा राजमार्ग क्षेत्रमा सङ्क्रमणको त्रास

नेपालखोज २०७७ वैशाख १८ गते १४:४२

फिदिम । सवारी सञ्चालनमा कडाइ नहुँदा यहाँको राजमार्ग क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको त्रास फैलिएको छ । लकडाउनको पूर्ण पालना नहुँदा अत्यावाश्यकबाहेकका सवारीका साधनसमेत सञ्चालन भइरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय क्षेत्रका सवारीका साधनबिना जाँच नियमित सञ्चालन हुँदा राजमार्ग क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको त्रास फैलिएको हो । खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको आयात हुने झापा जिल्लामा कोभिड–१९ का सङ्क्रमित फेला परेपछि पाँचथर, इलाम र ताप्लेजुङको राजमार्ग क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् ।

राजमार्गमा पर्ने नाकामा सवारीचालक तथा सवारीमा सवारहरुको तापक्रम परीक्षण हुने गरेको छ । यसअतिरिक्त उनीहरुलाई सावधानी अपनाउन आग्रह गर्ने गरिएको छ । नेपालमा कोभिड–१९ का अधिकांश सङ्क्रमितमा कुनै स्वास्थ्य समस्या नदेखिने खबरहरु सार्वजनिक भएपछि व्यवसायी त्रसित बनेका हुन् । स्थानीयवासीका आवश्यकता पूर्तिका लागि व्यवसाय सञ्चालन गर्नुपर्ने तथा तराईबाट आएकाको सीधा सम्पर्कमा पुग्नुपर्ने बाध्यताले आफूहरु भयभित भएको मेची राजमार्गका पर्ने पाँचथरको हिलिहाङ–७ कुपिलीका व्यवसायी धनपति प्याकुरेलको भनाइ छ । सवारीका चालक तथा यात्रु व्यवसायी तथा स्थानीयवासीको सीधा सम्पर्कमा पुग्दा सङ्क्रमणको जोखिम बढेको हो । राजमार्ग क्षेत्रमा सङ्क्रमणबाट बच्ने सावधानीबारे उचित परामर्श नहुनु र सरकारी निकायबाट सतर्कता नअपनाइनुले जोखिम बढेको राजमार्ग क्षेत्रका व्यवसायीहरुको भनाइ छ ।

ग्रामीण बस्तीहरुमा राजमार्ग आसपासका स–साना बजारबाट खाद्यान्नलगायत सामग्री खरिद गरिने हुँदा अधिकांश पसल खुला रहने गरेका छन् । साना व्यवसायीले खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको एकैपटक ठूलो मौज्दात राख्न नसक्ने भएकाले तराईका जिल्ला तथा सदरमुकाम नियमित ढुवानी र बिक्री हुने गर्दछ । सवारी चालक तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रुलाई सङ्क्रमणको विस्तारबारे सचेत तुल्याइ सुरक्षित रहने वातावरण निर्माण गरिनुपर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया