नेकपा एस र उन्मुक्ति पार्टी प्रतिपक्षमै बस्ने, प्रभु र अमरेशले पनि प्रतिपक्षी बेञ्च मागे

काठमाडौं । भोलीदेखि चल्ने संसदमा नेकपा एकिकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्ष बेञ्च माग गरेका छन् ।
संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई कुन बेञ्चमा बस्ने भनेर सोधेको प्रश्नमा ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताउँछन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिइन् । नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ ।
त्यस्तै, रौतहट–३ बाट निर्वाचित प्रभु साह र सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन पुस १० गतेसँगै शितल निवास गएका थिए ।
उनीहरुले समेत समर्थन गर्ने भएपछि प्रधानमन्त्री दाबी गरिएको पत्रमा दुबैको नाम अन्तिममा हातैले लेखिएको थियो ।
तर, पुस २४ गते सांसदद्वय साह र सिंहले संसद सचिवलायलाई आफूहरु प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् ।
प्रतिक्रिया