सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडाैं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो ।
निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक प्रारम्भ हुनेछ। अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन् । बैठकका अन्य कार्यसूची यसअघि नै टुङ्गो लागिसकेका छन् ।
अधिवेशनका बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन् । पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराइनेछ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया