शनिबार, असार १४, २०८२

सधैँ सत्तामा शालिकराम : अघिल्लो कार्यकालमा मन्त्री, अहिले मुख्यमन्त्री

नेपालखोज २०७९ पुष २६ गते ९:५७

२०७४ र २०७९ को प्रदेश सभाको निर्वाचनबाट धादिङ क्षेत्र नं १ को २ बाट निर्वाचित भएका शालिकराम जमरकट्टेल सधैँ सत्तामा रहने भाग्यमानी नेता मानिएका छन् । २०७४ माघदेखि २०७७ पुससम्म बागमति प्रदेशको आन्तरिक मामिला मन्त्री बनेका जमरकट्टेलले २०७८ कात्तिकदेखि बागमती प्रदेशको अर्थ मन्त्रालय सम्हाले । उनै शालिकराम बागमति प्रदेशका मुख्यमन्त्री बनेका छन् ।

२०३० साल भदौमा धादिङको किराञ्चोकमा जन्मिएका जम्कट्टेल अहिले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इञ्चार्ज हुन् । २०४४ सालमा अखिल छैटौं हुँदै विद्यार्थी राजनीति सुरू गरेका जमरकट्टेल २०४८ मा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य बनेका थिए । २०४७ सालमा ललितपुरको काभ्रे आइरन उद्योगमा मजदुरका रूपमा काम गरेका उनी सोही समयबाट मजदुर संगठनमा संगठित भएका हुन् ।

माओवादी सशस्त्र विद्रोह सुरू भएपछि निरन्तर पार्टीमा क्रियाशील रहेका जमरकट्टेल २०६० बाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ को अन्तरिम संसदमा सांसद बनेका जमरकट्टेलले २०६४ मा धादिङ क्षेत्र नं १ बाट निर्वाचन जितेका थिए । २०६४ मा एमालेका राजेन्द्र पाण्डेलाई हराएका जमरकट्टेलले २०७० मा भने पाण्डेसँगै हारेका थिए ।

प्रतिक्रिया