शनिबार, असार १४, २०८२

सरकारको ध्यान समृद्ध नेपालमा : मुख्यमन्त्री अधिकारी

नेपालखोज २०७९ पुष २७ गते १९:५२

काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताए ।

युनाइटेड क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित ११ औँ संस्करणको महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो कुरा बताएका हुन् । आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको भनाइ उनको छ ।

रोजगारीको अवसर खोज्दै लाखौँ युवा विदेशिने गरेको भन्दै उनले उनीहरूलाई जोजगारीको सिर्जना नेपालभित्र नै गर्नेतर्फ तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए । सरकारले आफ्ना कार्यक्रम बनाउँदा युवा लक्षित हुनुपर्ने भनाइ उनको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ हुने महोत्सवले सांस्कृतिकरूपमा ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले महोत्सवको सफलताको कामना गरे ।

कोरोनाले थला परेको अर्थतन्त्र यस्ता मेला महोत्सव सञ्चालन हुँदा केही मात्रामा भए पनि अर्थतन्त्र चलायमान हुने विश्वास उनले व्यक्त गरे । ‘आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहले राष्ट्रलाई एक बनाएको दिन, सरकारले पनि सार्वजनिक बिदा दिएको छ’, मुख्यमन्त्री अधिकारीले भने, ‘राष्ट्रनायक पृथ्वीनारायण शाहलाई सबैले सम्झनुपर्ने छ ।’

आजदेखि सञ्चालन हुने उक्त महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया