पछिल्ला पाँच वर्षमा भएका ठूला विमान दुर्घटना

काठमाण्डौं । पोखरा विमानस्थल नजिकै आइतबार भएको विमान दुर्घटनामा लगभग सबै ७२ जनाको मृत्यु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन भएको पन्ध्र दिनमै यति ठूलो विमान दुर्घटना भएपछि यो विमानस्थलका बारेमा पनि अनेकन प्रश्न उठन थालेको छ । ती प्रश्नका केहि कारण पनि छन । विश्वका सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा नेपाल पनि छ । पछिल्ला पाँच वर्षमा भएका ठूला विमान दुर्घटनाको तथ्याङ्कले पनि यो कुरा पुष्टि हुन्छ । हेरौं, विगत पाँच वर्षमा भएका ठुला विमान दुर्घटनाहरू :
२०२२ का दुई ठूला विमान दुर्घटना : गत वर्ष दुईवटा ठूला विमान दुर्घटना हेडलाइनमा थिए । जसमध्ये पहिलो विमान दुर्घटना २१ मार्चमा भएको थियो। उक्त विमान चीनको ‘इस्टर्न एयरलाइन्स’को बोइङ-७३७-८०० थियो। यो विमान गुआन्सीको पहाडमा ठोक्किएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो । दोस्रो दुर्घटना मे ३० मा नेपालको मुस्ताङ क्षेत्रमा भएको थियो जसमा तारा एयरको DH-6 विमानमा सवार सबै २२ जना यात्रुको मृत्यु भएको थियो ।
२०२१ मा जकार्ता विमान दुर्घटना : जनवरी ९ मा बोइङ – ७३७ जाभाको समुन्द्रमा खसेको थियो । श्रीविजय एयरको यो विमान दुर्घटना हुनु केही मिनेटअघि जकार्ताबाट उडेको थियो । विमानमा १० बालबालिकासहित ६२ जना सवार थिए । दुर्घटनामा उनिहरु सबैको मृत्यु भयो ।
२०२० का तीन प्रमुख विमान दुर्घटना : २०२० को पहिलो दुर्घटना जनवरी ८ मा भएको थियो । त्यसमा युक्रेनको इन्टरनेशनल एयरलाइन्सको पीएस–७५२ विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो । जसमा जहाजमा रहेका सबै १७६ यात्रु तथा चालक दलका सदस्यको मृत्यु भएको थियो । उक्त घटना अमेरिका र इरानबीच तनाव उत्कर्षमा रहेको बेला भएको हो । पछि इरान सरकारले गल्तीले उक्त विमान झारेको ’ कुरा स्वीकार गरेको थियो । २०२० को दोस्रो विमान दुर्घटना मे २२ मा पाकिस्तानको कराँचीमा भएको थियो। उक्त विमान पाकिस्तान एयरलाइन्सको एयरबस-ए-३२० थियो । विमानमा ९७ यात्रु तथा आठ जना चालक दलका सदस्य थिए । यो विमान दुर्घटना पाकिस्तानको इतिहासमा सबैभन्दा खराब दुर्घटना मानिन्छ। सन् २०२० को तेस्रो ठूलो दुर्घटना भारतिय राज्य केरलाको कोझिकोडमा भएको थियो । अगस्ट ७ मा दुबईबाट आएको एयर इन्डियाको विमान अवतरणपछि धावनमार्ग बाहिर खसेको थियो । उक्त विमानमा १८६ जना सवार थिए र त्यसमा पाइलट र को-पाइलट सहित कुल २१ जनाको मृत्यु भएको थियो । २०१९ को मार्च 10 मा इथियोपियन एयरलाइन्सको विमान अदिस-अबाबाबाट उडेको छ मिनेट पछि दुर्घटनाग्रस्त भयो । उक्त विमानमा ३० देशका १५७ जना सवार थिए । यो दुर्घटनामा कोही पनि बाँचेनन् ।
२०१८ का प्रमुख विमान दुर्घटना : पछिल्ला ५ वर्षमध्ये २०१८ मा सबैभन्दा धेरै विमान दुर्घटना रेकर्ड गरिएको छ । २०१८ को पहिलो दुर्घटना फेब्रुअरी ११ मा भएको थियो । यो घटनामा रुसी यात्रुवाहक विमान मस्को एयरपोर्टबाट उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भयो । दुर्घटनामा सबै ७१ यात्रुको मृत्यु भएको थियो । २०१८ को दोस्रो ठूलो दुर्घटना फेब्रुअरी १८ मा इरानमा भएको थियो । एसम्यान एयरलाइन्सको विमान ‘ एटीआर टर्बो प्रोप ’ तेहरान विमानस्थलबाट उडेको करिब एक घण्टापछि पहाडमा दुर्घटनाग्रस्त भएको थियो । यो यात्रु बाहक विमानमा सवार सबै ६६ जनाको मृत्यु भएको थियो । यसैगरी २०१८ को तेस्रो ठूलो दुर्घटना काठमाडौं विमानस्थलमा भएको थियो । मार्च १३ मा भएको उक्त दुर्घटनामा ७१ मध्ये ५० भन्दा बढी यात्रुको मृत्यु भएको थियो । वर्ष २०१८ को सबैभन्दा ठूलो दुर्घटना अल्जेरियाको राजधानी अल्जियर्समा भएको थियो । अप्रिलमा भएको उक्त दुर्घटनामा विमानमा सवार सबै २५७ जनाको मृत्यु भएको थियो । यो सेनाको विमान थियो, जुन उडेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा अधिकांश सैनिक तथा उनीहरुका परिवार सवार थिए । २०१८ को पाँचौं दुर्घटना मे १८ मा क्युबाको राजधानी हवानामा भएको थियो । हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि बोइङ ७३७ विमान दुर्घटना भएको थियो । दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु भयो भने एकजना गम्भीर घाइते भए । २०१८ को अक्टोबर २९ मा एक अर्को विमान दुर्घटना भएको थियो जसमा लायन एयरको बोइङ विमान जाकार्ता विमानस्थलबाट उड्ने क्रममा जाभा समुन्द्रमा खसेको थियो । दुर्घटनामा विमानमा सवार सबै १८९ यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।
प्रतिक्रिया