सरकारको छ महिने खर्च : पाँच खर्ब ७६ अर्ब ३४ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२.१३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबर विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट छुट्याएको थियो । पुस मसान्तसम्ममा पुँजीगत खर्च ५३ अर्ब ४५ करोड ५२ लाख बराबर खर्च भएको हो ।
चालु शिर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ बराबर विनियोजन भएकामा ३८.४६ प्रतिशत अर्थात् चार खर्ब ५५ अर्ब १२ करोड ७० लाख खर्च भएको पनि महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकामा २९.४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ बराबर खर्च भएको छ । यही अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत बराबर देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको छ ।
तर छ महिना अवधिमा वार्षिक लक्ष्यको ३३.९३ प्रतिशत अर्थात् रु चार खर्ब ९४ अर्ब ८४ करोड ५८ लाख बराबर खर्च भएको छ । जसमध्ये कर राजस्वतर्फ चार खर्ब पाँच अर्ब २६ करोड ९३ लाख र गैरकर राजस्वतर्फ रु ५३ अर्ब ७१ करोड ७५ लाख बराबर संकलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । हालसम्म वार्षिक लक्ष्यको ८.६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख बराबर वैदेशिक अनुदान सरकारले लिएको छ । रासस
प्रतिक्रिया