नेपालमै किन हुन्छन् यति धेरै विमान दुर्घटना ?

पछिल्ला ३० वर्ष यता नेपालमा भएका विमान दुर्घटना मध्ये पोखरामा आइतबार भएको दुर्घटना २८ औं विमान दुर्घटना थियो भने यो नेपालको आन्तरिक उडानको सबैभन्दा ठुलो विमान दुर्घटना हो । आखिर किन नेपालमा किन यति धेरै विमान दुर्घटना हुन्छन् र किन नेपालको हवाई यात्रा विश्वकै खतरनाक हवाई यात्रा मानिन्छ ? तथ्यांकहरुले नेपाललाइ हवाई यात्राको दृष्टिले सबैभन्दा जोखिमपूर्ण देश बनाएको छ भने पछिल्ला १० वर्षमा नेपालमा २० वटा भन्दा बढी विमान दुर्घटना भएका छन् । त्यस्ता के–कस्ता कारण छन् ? जसले नेपाली आकाशलाइ यति असुरक्षित बनाएको छ ।
पहाडै पहाडको देश : विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा छ, जसको उचाइ लगभग ९ किलोमिटर छ । यति मात्र होइन विश्वका ८ वटा सर्वाधिक अग्ला हिमाल पनि नेपालमै छन् । यी पहाडका कारण पनि नेपालमा हवाई उडानमा अनेकौं समस्या बेहोर्नु परेको छ ।
विश्वकै खतरनाक विमानस्थल : विश्वकै खतरनाक विमानस्थलमध्येको एक लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल नेपालमै छ । यो विमानस्थलको धावनमार्ग पहाड बिचको ढुङ्गा काटेर तयार पारिएको हो । यहाँ विमानलाई सुरक्षित अवतरण गराउनु युद्ध जित्नु भन्दा कम मानिदैन । यो विमानस्थलको एकातर्फ धावनमार्ग र अर्कोतर्फ गहिरो खाल्डो छ । अलिकति गल्ती भयो भने यहाँ जोगिन निकै गाह्रो हुन्छ ।
साँघुरो उपत्यकाका कारण विमान घुमाउन कठिनाइ : विमान दुर्घटना हुनुमा नेपालको भौगोलिक अवस्था पनि धेरै हदसम्म जिम्मेवार छ । नेपालका उच्च चुचुराहरू बीच साँघुरा उपत्यकाहरू छन्, जहाँ विमान घुमाउन त्यति सहज छैन् । यहाँ सधैं दुर्घटनाको खतरा रहन्छ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल समुन्द्र सतहबाट १३३८ मिटरको उचाइमा छ र त्यहाँ पुग्न साँघुरो उपत्यका पार गर्नु पर्छ ।
खराब मौसम तथा प्राकृतिक बनावट : नेपालका अधिकांश भाग पहाडी क्षेत्रले ढाकेका छन् । जहाँ जाडोको दिनमा प्रायः मौसम खराब हुन्छ । बाक्लो कुहिरोका कारण कतिपय अवस्थामा यहाँका धावनमार्ग देखिँदैन । यसबाहेक नेपालको प्राकृतिक संरचना र कमजोर नियमन पनि दुर्घटनाका लागि जिम्मेवार छन् ।
उच्च गुणस्तरीय प्रबिधी तथा दक्ष कर्मचारीको अभाव : नेपालमा हुने विमान दुर्घटनाको कारण उच्च गुणस्तरीय प्रविधिको कमी, विशेषगरी उन्नत मौसमी राडारको अभाव पनि हो जसका कारण पाइलटलाइ मौसम सम्बन्धि यथार्थ जानकारी पाउन निकै गाह्रो हुन्छ । नेपालका पुराना विमानहरूमा आधुनिक प्रविधिसहितको मौसमी राडार पनि छैनन् जसका कारण पाइलटले मौसमको सही जानकारी पाउँदैनन् ।
पुराना जहाज : नेपालमा चल्ने सबै जसो जहाज सेकेन्ड ह्यान्ड छन् । अन्य मुलुकहरुमा ८– १० वर्ष चलेका जहाज मर्मत सम्भार गरि नेपाली आकाशमा उडाइन्छ । पुराना यी जहाज पनि दुर्घटनाका ठुला कारण हुन् ।
प्रतिक्रिया