शनिबार, वैशाख १३, २०८२

पाकिस्तानमा दुई सय वर्ष पुरानो हिन्दु मन्दिर

नेपालखोज २०७९ माघ ३ गते ७:०९

पाकिस्तानका हिन्दूहरू सिन्धु नदीको बलौटे किनारमा भएका रंगीन डुङ्गा चढेर एउटा टापुमा पुग्छन् जहाँ दुई सय वर्ष पुरानो हिन्दु मन्दिर छ । उक्त डुङ्गा टापुको किनारा नजिक पुगेपछि अगाडि संगमरमर र चन्दनले बनेको एउटा मन्दिर देखिन्छ । त्यसपछि डुङ्गाका यात्रुहरू साधु बेलाको जयजयकार गर्न थाल्छन्। हरेक वर्ष चाडपर्वको अवसरमा हजारौं हिन्दू धर्मावलम्बी आफ्ना देवताको दर्शन गर्न उक्त मन्दिरमा पुग्छन्। यो साधुबेलाको मन्दिर करिब २०० वर्षअघि जोधपुरका कारीगरहरूले बनाएका थिए । यसको वास्तुकलामा ताजमहलको छाप पाइन्छ। यसको २०० औं स्थापना दिवस यहि २०२३ मा मनाइदैछ ।

यो मन्दिरमा बनखण्डी महाराजको बसोबास भएको बिश्वास गरिन्छ । उनी सन् १८२३ मा नेपालबाट त्यहाँ पुगेको भनाइ समेत प्रचलित छ । बनखण्डी महाराजलाई त्यो ठाउँ यति मन पर्यो कि उनी त्यहिँ बसोबास गर्न थाले । हरेक वर्ष उनको पुण्यतिथिमा त्यहाँ मेला लाग्छ र ठूलो संख्यामा भक्तजन पुग्छन् । करिब दुई शताब्दीअघि सिन्धका धनी मुस्लिम जमिन्दारहरूले यो टापु हिन्दू समुदायलाई उपहार दिएका थिए । आजको पाकिस्तानमा यस्तो कुरा कल्पना सम्म गर्न सकिँदैन किनभने मुस्लिम बहुल पाकिस्तानमा हिन्दूहरूले अहिले धेरै प्रकारका भेदभाव, उत्पीडन र शोषणको सामना गरिरहेका छन्। पाकिस्तान विशेष गरी सिन्ध प्रान्तमा हिन्दू संस्कृतिका केही अबशेष अझै बाँकी छन्।

संख्या घटे पनि सिन्ध प्रान्तमा उनीहरुका कतिपय मन्दिर समेत छन् । सिन्धमा हिन्दूहरूको आफ्नै व्यापार, स्वास्थ्य र शैक्षिक संस्थाहरू पनि छन् । तीमध्ये धेरैजसो भारत – पाकिस्तान विभाजनअघि देखि चलिरहेका छन्। सिन्धको सुक्करबाट केही दूरीमा रहेको उक्त टापुमा साधुबेला बाहेक अन्य आठ वटा मन्दिर छन्। यस बाहेक मन्दिरका पुजारीका लागि घर र भक्तजनको बासको व्यवस्था समेत छ । पार्क र रेष्टुरेन्टसँगै यहाँको वातावरण पनि निकै फरक छ । पाकिस्तानमा अहिले ४० लाख हिन्दू छन्, जुन पाकिस्तानको जनसंख्याको करिब १.९ प्रतिशत हो । ती मध्ये करिब १४ लाख सिन्धमा बस्छन् । पाकिस्तानमा हिन्दूहरूलाई पूजा गर्न निषेध गरिएको छैन तर सार्वजनिक रूपमा हिन्दु धर्मको अभ्यास सहज भने छैन । दशकौंदेखि चलिरहेको भारत – पाकिस्तान बिचको राजनीतिक शत्रुताका कारण पाकिस्तानमा भएका हिन्दूहरू निकै ठुला चुनौतीहरू बिच जीवन गुजारा गरिरहेका छन ।

प्रतिक्रिया