शुक्रबार, असार १३, २०८२

सञ्चार मन्त्री रेखा शर्माको राजनीतिक पृष्ठभूमि

नेपालखोज २०७९ माघ ३ गते १४:४८

काठमाण्डौं । रेखा शर्माले पद बहाली गरेकी छिन् । उनी प्रचण्ड सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी छिन् ।
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन् ।

विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनुभएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।

विसं २०२६ असोज ९ गते घोराहीको मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी उनले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी हुन् । विसं ०४२÷४३ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीति होमिनुभएकी उनी अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को दाङ अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य, २०५१ मा वाइसिएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष भइन् ।

विसं २०५७ मा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेकी उनी काठमाडौँ उपत्यका उपब्यूरोको इन्चार्जको भूमिका निर्वाह गरिन् । विसं २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परी नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा बसेकी थिइन् ।

युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ मा दुवै जना मुक्त हुँदै पार्टीमा क्रियाशील भइन् । विसं २०७० र २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएका शर्मा माओवादीभित्र स्थापित नेत्रीसमेत हुन् ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्ली महिला थिइन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्छिन् ।

पार्टीको विद्यार्थी, युवा र महिला सङ्गठनमा लामो समय बिताएकी शर्माले राज्यबाट संविधानसभा पदक प्राप्त गरिन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी शर्माको स्थायी ठेगाना घोराही उपमहानगरपालिका–१८ दाङ हो ।

प्रतिक्रिया