शुक्रबार, असार १३, २०८२

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक बालुवाटारमा सुरु

नेपालखोज २०७९ माघ ३ गते १७:०६

काठमाडौं । सभामुख र राष्ट्रपति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ । बैठकमा शक्ति बाँडफाँडका विषयमा छलफल सुरु भएको बताइएको छ ।

पुष १० कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड र अध्यक्ष ओलीबीच आलोपालो प्रधानमन्त्री, आलोपालो सभामुख र राष्ट्रपति एमालेलाई दिने सहमति भएको भनिएको थियो । खास गरी एमालेले राष्ट्रपति र पहिलो सभामुख लिने सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जनाएको बताएको थियो । तर, अहिले आएर त्यो सहमति भएको थियो कि थिएन भन्ने प्रश्न राजनीतिमा उठिरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बलाएर छलफल थालेका छन् ।

सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष ओलीले कांग्रेस र नेकपा एसलाई बाहिर राखेर हतारमा फाइदा लिन खोजेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा निकालेर राष्ट्रपति र सभामुखका लागि कांग्रेस र नेकपा एससँग पनि छलफल गर्ने मनसाय बनाएर ३ माघमा सर्वदलीय बैठक बोलाएका थिए । उनले सर्वदलीय छलफलमा राखेर एमालेसँग राष्ट्रपति वा सभामुखका विषयमा सहमति भएको थिएन भन्ने सन्देश दिन चाहेको बुझाइ माओवादी नेताहरुको छ ।

प्रचण्डले एमालेसँग सहमतिका क्रममा कांग्रेसको भूमिका प्रतिपक्षको हुने कल्पना गरेको र विश्वासको मतपछि परिस्थिति फरक परेकाले राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग छलफल गर्नुपर्ने भन्दै प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । एमाले र माओवादीबीच सहमति हुँदा कांग्रेसले सरकारलाई समर्थन दिने निर्णय गरेको थिए । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गर्नुअघि कसरी हुन्छ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने सोच बनाएर ३ माघमा सर्वदलीय बैठक बोलाएको नेताहरुको भनाइ छ ।

सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रपति र सभामुखमा आफ्नो भाग खोज्दै दलहरुसँग छलफल सुरु गरेको छ । दलहरुसँग छलफल अगाडी बढाउन पदाधिकारी बैठकले सभापति देउवालाई जिँम्म दिएपनि यसको सुरुवात भने रामचन्द्र पौडेलले गरेको छ । देउवाको सल्लाहमा पौडेलले शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग यो विषयमा कुरा गरेका थिए । तर, सहमति जुटाउन प्रधानमन्त्रीको पहल, कांग्रेसको चासो राष्ट्रपतिमा देखेपछि अध्यक्ष ओली कांग्रेसविनाकै शक्ति बाँडफाँट गर्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया