निर्वाचन खर्च विवरण बुझाउने समय थप गर्न गाउँपालिका राष्ट्रिय महासंघको माग

काठमाण्डौं । स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाउने जनप्रतिनिधिलाई थप जरिबाना गर्ने नियम प्रति पुनःविचार गर्न गाउँपालिका राष्ट्रिय महासंघले माग गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघको काठमाण्डौंमा बसेको बैठकले निर्वाचन खर्च विवरण समयमै नबुझाउने जनप्रतिनिधिहरुलाई खर्च विवरण बुझाउन पुनः केही समय दिन माग गर्ने निर्णय गरेको हो । गत पुस २५ र २६ गते काठमाडौँमा बसेको गाउँपालिका राष्ट्रिय महासंघको बैठकले जरीबानाको प्रावधानलाई तत्काल पुनरावलोकनका लागि सम्बन्धित निकाय समक्ष माग गर्ने निर्णय गरिएको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
यस मागको सम्वन्धमा निर्वाचन आयुक्त र गृहमन्त्रीेलाई विषयवस्तुको ध्यानाकर्षण गराईसकिएको अध्यक्ष पाण्डेले बताइन् । जरिबाना छुटका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय महासंघ तीन वटै छाता संगठनले सयुक्त पहल गर्ने समेत तयारी गरिएको जनाइएको छ ।
निर्वाचन खर्च विवरण नबुझाउने गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उमेदवारलाई निर्वाचन आयोगले जनही तीन लाख ५० हजार रूपैयाँ जरिबाना तोकेको छ । गाउँपालिकाको वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाउने उमेदवारलाई आयोगले जनही एक लाख ५० हजार रूपैयाँ जरिबाना तोकेको छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ । विवरण नबुझाएमा जरिबाना तिर्नु पर्ने छ । आयोगले गरेको निर्णयअनुसार जरिबाना नतिरे विजयी बनेका जनप्रतिनिधिको पद ६ महिनाभित्र स्वतः खारेज हुनेछ ।
प्रतिक्रिया