सभामुख निर्वाचन : देवराज भर्सेज ईश्वरी, कस्को पक्षमा बहुमत ?

काठमाडौं । आज हुने प्रतिनिधिसभाका सभामुख चयनका लागि हुने निवाचनमा दुई उम्मेदवारबीच प्रतिस्प्रर्धा हुँदैछ । सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाएपछि सरकार बाहिर रहेका दलहरुले कांग्रेसकी ईश्वरी न्यौपानेलाई अघि सारेको हो ।
सत्ता गठबन्धनका उम्मेदवार घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छन् । कांग्रेसकी उम्मेदवार न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।
दुवैले जित्ने दाबी गरे पनि २७५ जना सांसद रहेको संसदमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरे नै अगाडि छन् । घिमिरेको पक्षमा एमालेको ७९, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४ मत छ । उनलाई जीत सुनिश्चित गर्न १३८ मत आवश्यक पर्छ । तर, एमाले, माओवादी, रास्वपा र राप्रपाको जोड्दा नै १४४ मत हुन्छ ।
यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ । कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ सीट छ । कांग्रेसका एक सांसद निलम्बित छन् । तीन दलका १०२ सांसदमात्रै हुन्छन् ।
तर, मन्त्रिपरिषद् विस्तारमा भागबन्डामा असन्तुष्टि जनाएर सत्ता बाहिर बसेको जसपाले कसलाई समर्थन गर्छ भन्ने टुंगो छैन । देउवासँग १२ सीट रहेको जसपा अध्यक्ष उपेन्द्र यादव निरन्तर संवादमा रहेकाले विपक्षी गठबन्धनको ११४ सांसद हुनसक्छ ।
यीबाहेक ६ सीट भएको जनमत पार्टी, ४ सीट भएको नागरिक उम्मुक्ति पार्टीले पनि सरकारलाई समर्थन गरेका छन् । उनीहरुले घिमिरेलाई नै मत दिनसक्छ । तर, नागरिक उन्मुक्ति आफ्नो एजेण्डालाई सर्त राखेर सरकारमा गएको छैन । । प्रधानमन्त्री नियुक्त हुने वेलामा प्रचण्डलाई १६९ सांसदले समर्थन गरेका थिए । तर, अहिले साना दलको असन्तुष्टिको कारणले त्यही मत कायम नहुन सक्ने आँकलन गरिएको छ ।
यसबाहेक स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहलगायतले पनि घिमिरेलाई सहयोग गर्नसक्छन् । १–१ जना सांसद रहेको राष्ट्रिय जनमोर्चा र नेमकिपा अहिलेसम्म कतै खुलेका छैनन् ।
प्रतिक्रिया