प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको मुख्य कार्यसूची सभामुखको निर्वाचन सम्पन्न गराउने छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ज्येष्ठ सदस्यले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि छ ।
ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनका लागि प्रस्ताव पेस गर्न अनुमति दिनेछन भने नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरु हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्ने कार्यसूची छ ।
त्यस्तै सभामुख पदको लागि नेपाली काँग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो १ बजेर १ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची छ ।
संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक,२०७९ सभामुख समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया