आइतबार, असार २२, २०८२

ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी

प्रकाश दाहाल २०७९ माघ ५ गते ११:४४

भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम हो । राणाकालिन समयमा राजधानी काठमाडौ आउँदा विषेशगरी वास बस्ने स्थान रहँदा विस्तारै बजारको रुपमा विकास भएको सुन्न पाईन्छ । मकवानपुरको सदरमुकाम हेटौंडाबाट २७ किलो मिटर दुरीमा रहेको बजार हो भीमफेदी ।

साविकमा भीमफेदी गाउँ विकास समिति रहेको यो स्थानिय तह अहिले बिशाल भीमफेदी गाउँपालिका भएको छ । राज्य पुनसंरचना भएपछि, साविकका भीमफेदी, कोगटे, इपा पन्चकन्या, भैंसे, निवुवाटार र नामटार गाविसको एउटा वडा मिलेर यो पालिका बनेको हो । नेपालको इतिहासमा निक्कै नै चर्चित भीमफेदी कुनै बेला तराईक्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने महत्वपूर्ण एकमात्र नाका थियो । ४० वर्ष अघि सम्म भीमफेदी चल्तीको बजार थियो । व्यस्त र चहलपहल भएको ठूलो व्यापारिक केन्द्रको रुपमा समेत रहेको थियो भीमफेदी ।

२०३९ सालमा तत्कालिन जिल्ला विकास समिति सभापति ओमुटेम्पु लामाले मकवानपुरको सदरमुकाम भीमफेदीबाट सारेर हेटौंडामा लगेपछि भीमफेदी बजार ओझेलमा नै पर्यो । ब्यस्त र चल्तीको बजार एकाएक शुन्यताको दिशामा गयो । जिल्ला स्तरीय यहाँ रहेका सरकारीलगायत अन्य कार्यालयहरू हेटौंडा सरेपछि व्यापारीक केन्द्र पनि हेटौंडा नै बन्न पुग्यो ।

भीमफेदी बजारमा नेवारी व्यापारी बाहुल्य बजार थियो । नेवारी समुदाय भएकै कारणपनि विभिन्न जात्रा, महोत्सवहरू, झाँकी, नाँच लगायत विभिन्न सास्कृतिक कार्यक्रमहरू एवं पर्व बिशेषका जात्राहरू र कार्यक्रमहरूले गर्दा सांस्कृतिक रुपमा पनि समृद्ध रुपमा अगाडि थियो भीमफेदी ।

भीमफेदीमा ऐतिहासिक चिसापानी गढी, तत्कालिन राजा महाराजा एवं राणाहरूले निर्माण गरेका भौतिक संरचना, विभिन्न कालखण्डमा राजाहरू, राणा प्रधानमन्त्रीहरू, वेलायती महारानी एलिजावेद द्वितीय लगायत विदेशी पाहुनाहरूले हात्ती सवार गर्दा वा शिकारका क्रममा प्रयोग गरेका सामाग्रीहरू तथा हौदाहरू सहितको हात्तीसार सङ्ग्रालय, वि.सं. १९६४ सालमा निर्मित पृथ्वी–चन्द्र अस्पताल भवन रहेका छन् । त्यस्तै राणा प्रधानमन्त्री जुद्ध समशेरले निर्माण गराएको विशाल धर्मशाला भने भत्काइएको छ । त्यस भवनमा महेन्द्र माविको कक्षा सञ्चालन हुँदै आएपनि सो भवन भत्काएर आधुनिक भवन बनाइएको छ । पौराणिक कालिगढी नमूना झल्कने भीमसेन महाराजको मुर्ति भएको भीमसेन मन्दीर, ढुङ्गेधारा सहितको आकर्षक पोखरी र मनोरम बगैचा जस्ता थुप्रै ऐतिहासिक संरचना भीमफेदीमा छन् । हाल हौदा संग्रालयलाई पुन निर्माण र संरक्षण गरीएको छ भने पृथ्वी–चन्द्र अस्पताललाई सोही ढाँचामा पुन निर्माण सुरु गरीएको छ ।

भीमसेन जात्रा र अन्य केही सानातिना जात्राहरू बाहेक अरु जात्राको अस्तित्व समाप्त हुन पुग्या े। चहलपहल कम भएपछि धेरै स्थानीयहरू समेत काठमाडौँ, हेटौंडा लगायत अन्य स्थान तिर बसाइँ सरे । भीमफेदीको चिसापानी गढी देशकै सबैभन्दा चल्तीको नाका थियो । हाल ललितपुरको केहि भाग धादिङ र काभ्रेको केहीभाग समेत र चितवन र मकवानपुर जिल्ला मिलेर बनेको चिसापानीगढी जिल्ला हुँदाको केन्द्र यही भीमफेदीमा रहेको चिसापानीगढी भएको इतिहास पाईन्छ। २०१३ साल तिर त्रिभुवन राजपथ सञ्चालन हुनु अघिसम्म दक्षिणी भागलाई काठमाडौँसँग जोड्ने एकमात्र नाकाको रुपमा थियो भीमफेदी। नेपाल अंग्रेज युद्ध ताका मजबुद किल्ला भएकै कारण चिसापानीमा हार खाएको थियो अग्रेज फौजले ।

राणा महाराजाहरूले उपत्यकामा भित्र्याउने सवारी साधन, मोटर गाडीहरूसमेत भीमफेदीबाट बोकेर उपत्यका पु¥याइन्थ्यो । विसं २०१३ सम्म नेपालमा मान्छेहरूले गाडी बोक्ने गर्थे। भिमफेदी सम्म गाडी गुडाएर ल्याएपछि त्यहाबाट गाडी बोकेर लगिन्थ्यो । झण्डै ३५ वर्ष नेपालमा गाडीलाई नल कसेर बोक्ने चलन कायम रह्यो । नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलोपटक गाडी ल्याएको इतिहासकारहरू बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ ।

नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शमशेरले जापानबाट गाडी मगाएर नेपालमै त्यसको पुनःनिर्माण र स्तरीकरण गरेको पनि बताईन्छ । राजा महाराजा तथा राणाहरूले क्रमशः नेपालमा गाडीहरू भित्र्याएका थिए । विदेशबाट नेपालको वीरगञ्ज, हेटौंडा हुँदै भीमफेदीसम्म मोटरबाटो बाटै गाडी लगिन्थ्यो ।

गाउँपालिकाले कृषि उत्पादन्, पर्यटन, कला आदिको विकासका लागि योजना बनाएर नै अगाडि बडेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको भनाई छ । ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रवर्द्धन र प्रचार प्रसार गर्न सके भीमफेदीले फाइदा लिने गरी ऐतिहासिकता बोकेका स्थालहरूको सोही ढाँचामा पुन निर्माण एवम् जिर्णाेद्वार गर्दै लैजाने लामाले जानकारी दिए ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा गाउँपालिकाले ऐतिहासिक भीमफेदी बजारको ऐतिहासिकता, धार्मिक तथा पर्यटकीय महत्वको प्रवर्द्धन हुनेगरी बिशेष योजना ल्याउन लागेको बताउछन् । भीमफेदीका कतिपय सम्पदाहरू केन्द्र सरकारको मातहत रहेको र कतिपय पुरातत्व विभागको क्षेत्राधिकारमा रहेकाले आवश्यक समन्वय गरेरमात्र काम गर्नुपर्ने वाध्यताहरू रहेपनि कुनैपनि सर्तमा यहाँको एतिहासिकताको प्रचार प्रसार गरेर भीमफेदीको समृद्धि बृद्धिका लागि काम गरिने उनको भनाइ छ ।

श्रोतः आइएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया