शनिबार, वैशाख १३, २०८२

आज सोनाम ल्होसार मनाइँदै

नेपालखोज २०७९ माघ ८ गते ७:२४

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि -२८५९ औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

प्रतिक्रिया