निजी अस्पतालद्वारा सरकार समक्ष सहुलियतको माग
काठमाडौं । लकडाउनका कारण व्यवसाय जर्जर बनेको भन्दै निजी अस्पतालहरूले कर छुटलगायतका विभिन्न सहुलियत माग गरेका छन् ।
निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले विभिन्न शीर्षकमा सरकारसँग सहुलियत मागेको हो ।
अफिनका अध्यक्ष वसन्तकुमार चौधरीद्वारा आज जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य सामग्री खरिदमा छुट दिन माग गरिएको छ । पीपीईलगायतका स्वास्थ्य सामग्री तथा सेवाको आयातमा लाग्ने कर तथा मूल्य अभिवृद्धि करमा पनि छुट गरिदिन सरकारसँग आग्रह गरेको हो ।
नत्यस्तै अफिनले स्वास्थ्य उपकरण खरिदमा छुट दिन माग गर्दै आगामी बजेटमा २ वर्षसम्म त्यस्तो सहुलियत उपलब्ध गराउनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
अस्पतालहरूलाई विशेष उद्योगका रूपमा वर्गीकरण गरी आय करको २० प्रतिशत कामय गर्न पनि उसले सरकारलाई सुझाएको छ । निजी अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई राहत उपलब्ध गराइदिन पनि अफिनले सरकारसमक्ष माग गरेको छ ।
कर्मचारीको तलब र सामाजिक सुरक्षा रकममा लाग्दै आएको कर सहुलियत दिन उसले आग्रह गरेको हो ।
प्रतिक्रिया