बिहीबार, असार १२, २०८२

कांग्रेस र नेमकिपाले माग्यो प्रमुख विपक्षी दलको संवैधानिकता, कस्को संभावना ?

नेपालखोज २०७९ माघ ८ गते १४:११

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै दाबीसहितको निवेदन दर्ता गराएको छ । सोही प्रकृतिको निवेदन नेमकिपाले पनि यसअघि नै दर्ता गराइसकेको छ ।

कांग्रेसको पत्रमा प्रमुख विपक्षी दलको नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिन माग गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । कांग्रेस संसदीय दलको निवेदन उपर निर्णयको विशेषाधिकार सभामुखमा निहित रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि विपक्षी दलको हैसियत गुमाएको भन्दै कांग्रेसमाथि टिप्पणी भइरहेको छ । नेमकिपाले सरकारलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै प्रतिपक्षीको मान्यता दिन माग गर्दै आएको छ । सांसद प्रेम सुवालले सदनमै यो कुरा उठाएका थिए ।

संविधानविद् डा. भिमार्जुन आचार्यले सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रतिपक्षमा बस्न नमिल्ने बताउँछन् । ‘सरकारलाई विश्वासको मत दिएपछि ऊ सत्तापक्ष नै ठहरिन्छ ।’उनले भने ।

संसदको प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकको साथमा विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनमा व्यवस्था छ ।

प्रतिक्रिया