शनिबार, असार २१, २०८२

विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा : अर्थमन्त्री

नेपालखोज २०७९ माघ ८ गते १४:२९

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।

प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताएका हुन् ।

गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री पौडेलले भने, ‘गैरआवासीय नेपालीको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ ।’ उनले सहज ढङ्गले नागरिकता प्राप्त गर्न सकिने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेमा विश्वास व्यक्त गरे ।

वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीलाई विदेशी नागरिक सरह लिएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपालीले नेपालमा आउँदा प्रवेशाज्ञा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै उनले नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने बताए ।

प्रतिक्रिया