कम तौलको ग्याँस सिलिण्डर बेच्ने एक व्यापारी पक्राउ
काठमाडौं । विश्व नै कोरोनाको महामारीबाट गुज्रिरहेको अवस्थामा यतिबेला नेपाल गत चैत्र ११ गतेदेखि पूर्ण रुपमा लकडाउनमा छ ।
यस्तो विसम परिस्थितिमा पनि नागरिकलाई ठग्ने अथवा कालोबजारी गर्नेलाई प्रहरीले कार्वाही गर्ने गरेको छ । यस्तैमा बिहिबार आज सिलिण्डरमा कम तौल ग्याँस राखी बिक्री गर्ने एक व्यपारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रत्येक ग्याँसको सिलिण्डरमा एकदेखि ६ किलोसम्म ग्याँस कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्याँस डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई बिहिबार आज महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले पक्राउ गरेको हो ।
स्थानीयवासीले ग्यास खरिद गरेर घर लगेपछि निकै कम तौल भएको भन्दै कालोबजारीको आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए । कालोबजारी भएको सूचना पाएपछि गुणस्तर तथा नापतौल विभागले सो डिपोमा छापा मारेको थियो ।
छापा गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्याँसको सिलिन्डर बरामद गरेको थियो । बरामद भएका ७५ वटै ग्याँसको सिलिण्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
बरामद ग्याँसको सिलिण्डरसहित सञ्चालक श्रेष्ठलाई थप अनुसन्धान तथा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार कारवाहीका लागि आज गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा पठाइएको उनले बताए ।
सो विभागका महानिर्देशक विश्वबाबु पुढासैनीले सञ्चालकले ठगी गरेको पाइएको बताउँदै थप अनुसन्धानपश्चात् उक्त कसुरमा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार तीन वर्ष कैद र रु ३० हजार मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिने जानकारी दिए ।
प्रतिक्रिया