नेपाल–भारत सीमानामा भारतीय नागरिकद्वारा ढुंगामुढा
बारा । बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो ।
गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।
सशस्त्र प्रहरी बल दुई नम्बर छिन्नमस्ता बाहिनी बल मुख्यालयका डीआईजी राजु अर्यालले स्थिति सामान्य भइसकेको बताए । अनधिकृत घुसपैठ रोक्नलाई दुवै देशका सुरक्षा अधिकारीले सावधानी अपनाएर काम गरेको अर्यालले बताउनुभयो ।
लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् । चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको छ ।
प्रतिक्रिया