बुधबार, असार ११, २०८२

सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : कांग्रेस नेता पौडेल

नेपालखोज २०७९ माघ १७ गते २१:२१

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गरे । राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उनले उल्लेख गरे ।

वरिष्ठ नेता पौडेलले पार्टीमा गुटबन्दी हुँदा कमजोर भएको चर्चा गर्दै राजनीतिक पार्टीबीच दलबन्दी हुँदा देश कमजोर हुने टिप्पणी गरे । वरिष्ठ नेता पौडेलले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरुलाई जनतामुखी बन्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, काङ्ग्रेस जिल्ला सभापति जीतप्रकाश आले, पूर्वसभापति बैकुण्ठ न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा नेता पौडेलले कांग्रेस तनहुँले प्रकाशित गरेको त्रैमासिक बुलेटिनको विमोचनसमेत गरे ।

प्रतिक्रिया