शुक्रबार, जेठ ३, २०८२

भ्रष्टाचारका कारण हिंसा र द्वन्द्व बढ्यो

नेपालखोज २०७९ माघ १८ गते १५:३१

सन् २०१७ यता विश्वका अधिकांश देश भ्रष्टाचारविरुद्ध लड्न असफल हुँदै आएका छन् । भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो नयाँ प्रतिवेदनमा सूचीमा परेका करिब ९५ प्रतिशत देशले यस विषयमा थोरै वा कुनै प्रगति नगरेको उल्लेख गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार सम्बन्धि आफ्नो धारणा सूचकांक तथा मापदण्डहरु , विज्ञ , व्यवसायी एवं जनताको धारणाका आधारमा निर्धारण गर्दछ ।


जहाँ भ्रष्टाचार बढी हुन्छ, त्यहाँ जनताको असन्तुष्टि हिंसामा परिणत हुने सम्भावना पनि उच्च रहेको यो अध्ययनले देखाएको छ । संस्थाकि बर्तमान अध्यक्ष डेलिया फरेरा रुबियो भन्छिन्, “भ्रष्टाचारले हाम्रो संसारलाई अझ खतरनाक ठाउँ बनाएको छ। यसका विरुद्ध सरकारहरूले प्रभावकारि काम गर्न नसकेका कारण जताततै हिंसा र द्वन्द्वले बढावा पाएको छ भने आम मानिसहरू मारमा परेका छन । यसले हिन्साको खतरा बढाएको छ। ।”

को कति भ्रष्ट ?

ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनमा १ सय ८० वटा देशलाई स्थान दिइएको छ । सबैभन्दा बढी भ्रष्टाचार हुने देशले शून्य र सबैभन्दा कम भ्रष्टाचार हुने देशले १०० बिचको अंक पाएका छन् । नर्डिक देश डेनमार्क ९० अङ्कका साथ यो मापनमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा उभिएको छ भने फिनल्याण्ड र न्यूजिल्याण्ड पनि ८७ अंकसहित शीर्ष स्थानमा छन् । यी देशमा भएका बलियो लोकतन्त्र र मानवअधिकारको सम्मानका कारण उनीहरू विश्वका शान्त र समृद्ध राष्ट्रमा पनि परेका छन्।


प्रतिवेदनमा पश्चिम युरोपका अधिकांश देशले राम्रो अंक पाएका छन्, तर केही देशले विगतका वर्षदेखि ओरालो लागेको संकेत पनि देखाएका छन । जस्तै : जर्मनी ७९ अंकसहित सूचीको नवौं स्थानमा छ जुन गत वर्षको तुलनामा एक अंकले कम हो । बेलायत ५ अंक झरेर ७३ औं स्थानमा पुगेको छ, जुन उसको अहिलेसम्मकै न्यून स्कोर हो । बेलायतमा सार्वजनिक खर्चदेखि लबिङसम्म, कैयौं घोटाला, मन्त्रीहरूमाथिको भ्रष्टाचारको खुलासाले धेरै कमीकमजोरी उजागर गरेको छ । त्यहाँका नेताहरूले जनताको विश्वास गुमाउँदै गएका छन् । स्विट्जरल्यान्ड ८२ अंकसहित अलि तल र नेदरल्यान्ड ८० अंकसहित त्यस भन्दा तल्लो स्थानमा छ । योसँगै दक्षिण एसियाली मुलुकमा भारत गत वर्ष जस्तै ४० अंकसहित ८५ औं स्थानमा पुगेको छ । पाकिस्तानमा भ्रष्टाचार बढ्ने अनुमान गरिएको थियो । पाकिस्तान २७ अंकसहित १४० औँ स्थानमा पुगेको छ । बंगलादेश पनि खराब प्रदर्शन गर्दै २५ अंकसहित १४७ औँ स्थानमा छ । नेपालको स्थान यी दुई शार्क मुलुक भन्दा राम्रो छ किनभने नेपाल ११० औँ स्थानमा छ। सोमालिया १२ अंकसहित सूचकांकको पुछारमा छ भने दक्षिण सुडान र सिरिया पनि पुछार तिरै छन् ।

रूसी युद्धले ल्याएको उथलपुथल

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि यस्तो सूची जारी गर्दै आएको छ । यसमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारको विवरण १३ विभिन्न स्रोतबाट लिइन्छ । यद्यपि २०२२ को सूचीले युक्रेनमा रुसी आक्रमणको ठूलो प्रभाव देखाएको छ। रुसमा पहिले देखि नै भ्रष्टाचार व्याप्त थियो भने यो युद्धले त्यसमा बृद्धि ल्याउँदै शान्ति र स्थिरतामा समेत गहिरो प्रभाव देखाएको छ । रुसि हमलाले भ्रष्टाचार र सरकारको जवाफदेहिताको अभाव बढाएको हुनाले विश्व शान्ति र सुरक्षामा ठूलो खतरा उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।


यो सुचिमा रुसले २८ अंक प्राप्त गरेको छ भने प्रतिवेदनले राष्ट्रपति पुटिनप्रति वफादारी देखाएका कारण रुसी कुलीनहरूले अनगिन्ती सरकारी ठेक्का तथा विभिन्न आर्थिक लाभ प्राप्त गरेको बताएको छ । प्रतिवेदनमा भनिएको छ, “आक्रमणले सम्पूर्ण युरोपेली महाद्वीपलाई अस्थिर बनायो, लोकतन्त्रलाई जोखिममा पार्यो र लाखौंको ज्यान गयो।” रुसी आक्रमण अघि युक्रेनले ३३ अंक पाएको थियो । यो प्रदर्शन खराब थियो तर बिस्तारै त्यसमा सुधार देखिएको थियो । आक्रमण पछि पनि त्यहाँ केहि समय सुधार जारी रह्यो तर त्यसपछि सुधारको प्रक्रिया पूर्ण रूपमा रोकिएको छ । हालसालैको एक अनुसन्धानले युक्रेनका केही वरिष्ठ अधिकारीहरू युद्धको कठिन परिस्थितिमा पनि व्यक्तिगत नाफा कमाउन संलग्न रहेको खुलासा गरेको छ। केही सहायता संस्थाहरूले युक्रेनलाई सहयोग गर्न पठाइएको रकमको दुरुपयोग भएको गुनासो पनि प्राप्त गरेका छन ।
स्रोत : एपी

प्रतिक्रिया