सोमबार, असार ९, २०८२

सीमामा अलपत्र नेपालीको उद्धार गर्न सांसदको माग

नेपालखोज २०७७ वैशाख २८ गते १६:२६

बुटवल । नेपाल–भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउन प्रदेश सांसदले माग गरेका छन् ।

रुपन्देहीको क्षेत्र नम्बर ५(ख) बाट निर्वाचित सांसद फखरुद्दिन खानले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भारतका विभिन्न राज्यबाट आएका नेपाली प्रदेश ५ का ६ वटा जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेका उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गरेका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको असरले भारतका विभिन्न राज्यमा रोजगारीमा गएका नेपालीहरु बेरोजगार भएपछि फर्किने क्रम जारी छ ।

ती राज्यले प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाल फर्कन दवाव दिएको र ढिला नगरी उनीहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद खानले माग गरे ।

सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउन ढिला गर्दा कतिपयले सुरक्षाकर्मीलाई रकम बुझाएर रातको समयमा लुकिछिपी स्वदेश पसिरहेको समेत उनले बताए । खुला सीमाको फाइदा उठाउंदै नेपाल प्रवेश गर्ने गरेकाले कोरोना संक्रमण फैलिनसक्ने चेतावनी समेत सांसद खानले दिए ।

भारतले दार्चुलामा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको विषय सरकारलाई ६ महिना अगावै थाहा हुँदाहुँदै चुप लागेर बसेको उल्लेख गर्दै सरकारले वार्ता र संवाद गरी कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्न पनि उनले माग गरे ।

प्रतिक्रिया