सरकारले टर्कीका भूकम्पपिडितलाई राहत र पुनर्स्थापनाका लागि सहयोग गर्ने

काठमाडौं । टर्कीका भूकम्पपिडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएकाे छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरेको हाे ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको बताए । उनले बैठकमा बोल्दै भने टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं’ ।
यस्तै बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रतिकूल मौसमको परबाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू सङ्घर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।
प्रतिक्रिया