सोमबार, असार १६, २०८२

युवराजको शुभ विवाह

सुनील उलक २०७९ माघ २६ गते ७:४०

५३ वर्ष अगाडि राजधानीमा एक भव्य विवाहको तयारी हुदै थियो । राणाशासनको समाप्ती पछि राजपरिवार भित्र पनि राजाको जेठो छोरा युवराजको विवाहको मिति तय भइसकेको हुँदा राजधानी नै सिंगारिने काम भइरहेको थियो । विवाह समारोहमा सहभागी हुन ५० देशका राष्ट्र प्रमुखलाई निम्तो दिइएको थियो । तर केवल भारत, श्रीलंका र लाओसका राष्ट्र प्रमुखमात्र आए भने अन्यले प्रतिनिधि पठाए ।

काठमाडौ उपत्यकाको सिङ्गार्ने काम ६ महिना अगाडीबाट थालिएको थियो । सडक सुधार देखी लिएर गरिवी देखिने बस्ती छेक्न ठूला ठूला इटाका पर्खालहरु पनि खडा गरिएका थिए । बिजुली बत्तीको ब्यबस्थाको लागी पनि ठूलै रकम राज्यबाट खर्चिएको थियो ।

विवाहको लागि काठमाडौ आइपुग्ने ३०० विशिष्ट पाहुनाहरुका लागि काठमाडौंका ठूला होटलहरु भाडामा लिइएका थिए । आमन्त्रित राष्ट्र प्रमुख तथा साथमा आउने पाहुनाहरुका लागि पाँच तारे होटलमा सुइट (बिशेष कोठाहरु)को साथै तीन वटा अन्य कोठा, प्रधानमन्त्री तथा साथमा आउने पाहुनाहरुका लागि एउटा सुइट (बिशेष कोठाहरु) र दुइ वटा अन्य कोठा, मन्त्रीहरु तथा साथमा आउने पाहुनाहरुका लागि दुइवटा कोठाको व्यवस्था गरिएको थियो । साथै देशैभरबाट पंचायतका गाँउ र नगर प्रमुखहरुलाई पनि निम्तो पठाइएको थियो ।

देशकै सबैभन्दा बिशिष्ट युवराजको विवाहका लागि धेरैले अनुमान गरे होलान् निम्तो कार्ड निकै महंगो थियो होला । तर यो कार्ड खासमा धेरै महंगो बनाइएको थिएन । केही वर्ष अगाडि भारतीय धनाध्य मुकेश अम्बानीले आफ्नो छोरीको विवाहको निम्तो कार्ड हालसम्मको सबैभन्दा महंगो विवाह कार्डमा पर्दछ । यो एउटा कार्डको मुल्य नेपाली रुपैया करिब ५ लाख पर्न गएको थियो ।

हिप्पीहरुको बिस्तारै बाहुल्यता बढ्दै गरेको काठमाडौको प्रमुख स्थानहरु फ्रिक स्ट्रिट झोछे तथा स्वयम्भू क्षेत्रमा तीन महिना अगाडी देखी नै ह्यासिस बिक्री तथा उपभोगमा प्रतिबन्ध लगाइएको थियो । साथै हिप्पीहरुलाई देश बाहिर जान लगाइएको थियो । यो विवाह यति धेरै बिलासी थियो कि संसारको सबैभन्दा खर्चालु विवाहको सूचीमा पर्न सक्यो । २०२५–२६ मा नेपालको वार्षिक बजेट मुश्किलले ६७ करोड पुगेको समयमा विवाहको सम्पूर्ण खर्च १६ करोड भन्दा बढी भएको थियो । समयको परिवत्र्य मूल्यको आधारमा आजको मूल्यमा तुलना गर्ने हो भने यो रकम झण्डै १२ अरब हुन जान्छ । साथै सिंहदरवारका १२०० वटा कोठा खाली बनाएर दुलहीको परिवार र विवाह समारोहको लागी सजाइएको थियो ।

विवाह समारोहमा आउने बिशिष्ट पाहुनाको लागी जापानबाट २०० वटा गाडी ल्याइएको थियो भने भारतको दिल्लीबाट दुइवटा जहाज भरि खानेकुरा ल्याइएको थियो । १५० वेटरहरु पनि भारतबाट नै आएका थिए भने कोकाकोला पनि भारतबाट नै ल्याइएको थियो । सयाँै क्विन्टल बास्नादार फूल निडरल्याण्डबाट ल्याइएको थियो । बिबाह समारोहको बिशेष बग्गीको लागी चारवटा बिशेष प्रजातीको अरबी घोडा बेलायतबाट ल्याइएको थियो । साथै चितवनबाट नौवटा तालिम प्राप्त हात्ती पनि लगिएको थियो । यहि अवसरमा बिदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै दुइ होटल खुलेका थिए ।

विवाह समारोहका अधिकांश कार्यक्रम सिंहदरवारमा नै गरिएको थियो । दुलाहा युवराज विरेन्द्रको सवारीको लागी चाँदीले ढाकिएको बिशेष प्रकारको हौदा बनाइएको थियो । नारायणहिटी देखी सिंहदरवार सम्मको वरियातको कार्यक्रममा हजारौ सहभागी भएका थिए । दुइ दिन लामो वैवाहिक कार्यक्रममा सयौँ पुरोहितहरु खटिएका थिए ।

बैबाहिक कार्यक्रमको विवरण यस्तो थियो ।
चिना मिलाउने तथा अन्य तैयारी भइसके पछि २०२६ बैशाख २० गते युवराज विरेन्द्रको ऐश्वर्य राज्य लक्ष्मी राणासंग विवाह जनै सुपारी लिने निर्णय भएको थियो । जनै सुपारीको मिती २०२६ को फागुन १२ गते तय भएको हुँदा फागुनको ११ गते राजदरवारबाट युवराज विरेन्द्रको तर्फबाट ऐश्वर्य राज्य लक्ष्मी राणालाई बिधिवत जनै सुपारीको निमन्त्रणा पठाइएको थियो । चाँदीको किस्तीमा सुनका गहना, फलफुल, नरिवल, सुनको सिक्का तथा अन्य सामग्रीको साथ निम्तो पठाइएको थियो ।

सिंहदरवारमा भएको जनै सुपारी कार्यक्रमको लागी युवराज तथा ऐश्वर्य समयमा नै पुगेका थिए । २०२६ फागुन १२ गते ठिक बिहान १० बजेको शुभसाइतमा एक अर्कोमा औठी साटासाट गरेर जनैसुपारी (मंगनी) गरेका थिए । फागुन १५ मा साइपाटा निस्कनु अगाडी बिहानको ठिक १०ः५१ को साइतमा हुनेवाला दुलाहा अर्थात युवराजको हातको छाप सेतो कपडामा लगाइएको थियो । यसरी हातको पञ्जा छाप लगाएको सेतो कपडा र दुलहीको लागी तैयार बनाइएको अन्य गहना, खानेकुरा तथा दुलहीको कपडाहरु साइपाटाको रुपमा दुलहीको घर पठाइएको थियो । यसरी साइपाटा पठाइदा विवाहको कार्यक्रमको सूची पनि दुलहीको घरमा पठाइने गरिन्छ । यसपछि १२ः४७ को साइटमा भावी युवराज्ञीको हातको पञ्जा छाप लिइएको थियो ।

भोलीपल्ट बिहान भावी युवराज्ञीको पञ्जाछापको साथ साइपाटा फर्काउने तथा युवराजलाई विवाहको निमन्त्रणा पठाइएको थियो । यसरी भावी युवराज्ञीको तर्फबाट निमन्त्रणा प्राप्त भएपछि फागुन १६ गते युवराजको वरयात्रा नारायणहिटी राजदरवारबाट सिंहदरवार तर्फ भएको थियो । वैवाहिक समारोहको लागी तैयारी गरिएको सिंहदरवारमा विशिष्ट पाहुनाहरुको लागी टेन्ट १ तथा विदेशी कुटनितिक नियोग तथा पाहुनाहरुको लागी टेन्ट २ को व्यवस्था गरिएको थियो ।

फागुन १७ गते बिहान ४ बजे नै कन्यादानको कार्यक्रम भएको थियो भने ६ः०५ मा यज्ञको शुभारम्भ गरिएको थियो । यज्ञको शुरुवात हुनु अगाडी जन्तीको साथ आइपुगेका वरलाई वरणी गरिन्छ । विधिपूर्वक वरको पूजा गरि स्वागत गर्ने कार्यक्रमलाई वरणी भनिन्छ । यहि यज्ञको कार्यक्रममा मन्त्रोच्चारण संगै बिधिहरु हुने गर्दछ । यज्ञमा बस्नु अगाडी बरबधुलाई लामो कपडाले एकअर्कासंग बाँधिएको हुन्छ । यहि बन्धन नै वास्तवमा विवाह बन्धनको रुपमा लिने गरिन्छ । यहि बिच फेरे लिने तथा सप्तपदीको कार्यक्रम पनि गरिएको थियो । विवाहको सबैभन्दा महत्वपूर्ण सप्तपदीको कार्यक्रममा पण्डितले पढ्दै गरेको मन्त्रको साथ सात पाइला हिडिन्छ । सात पाइलामा सात बचन वरले बधुलाइ दिनुपर्छ ।

विवाहको महत्वपूर्ण कर्म सप्तपदीमा युवराज विरेन्द्रले भावी युवराज्ञी ऐश्वर्यको दाहिने खुट्टाको बुढी औला छोएर सप्तपदीको लागी लावा छरेर बनाइएको मण्डपमा जान आग्रह गरेका थिए । यसरी सप्तपदी कर्म पछिमात्र पत्नीले पतिको गोत्र प्राप्त गर्ने, अर्धांगिनीको रुपमा बाँया तर्फको आसनको अधिकार प्राप्त गर्ने तथा पतिले जीवनको सहयात्री बन्ने कसम खाने गरिन्छ ।

अग्नीमा सात फेरे लिएपछि विवाहको प्रथम चरण समाप्त भएको थियो । दोस्रो दिन करिव २०० जना दुलहीका परिवारका सदस्यले दुलहीको पाउको जल खाने कार्यक्रम गरिएको थियो । यसपछि बधुको बिदाइ कार्यक्रम र वरको घरमा बधु प्रवेशको कार्यक्रम भएको थियो।

युवराजको विवाहमा पनि बधु प्रवेशको कार्यक्रममा वरबधुको आरती युवराज विरेन्द्रका दिदीबहिनी शान्ती, शारदा, जयन्ती तथा शोभाले गरेका थिए । त्यस्तै गृहप्रवेशमा बाटो छेक्ने पनि दिदीबहिनीले नै गरेका थिए । गृह प्रवेश पछि अर्को कार्यक्रम थियो, सासु र बुहारी बिचको । बडामहारानी रत्न तथा युवराज्ञी ऐश्वर्यले धानको धेरमा लुकाएर राखेको सिक्काहरु खोज्ने कार्यक्रम रहेको थियो । यो कार्य सासुबुहारीले घरको काम मिलेर गर्नुपर्छ भन्दै गरिने गरिन्छ ।

यसरी विवाहको कार्यक्रमको भोलीपल्ट दुल्हन फर्काउने कार्यक्रमको रुपमा नवबिबाहित बधुले आफ्नो जन्म घरमा आफ्नो नयाँ जीवनसाथीलाई लिएर जाने गर्दछ । यसरी बैबाहिक कार्यक्रमको समाप्ती हुनेगर्दछ । युवराज विरेन्द्रको बिबाहमा पनि फागुन १८ गते पहिलो पटक युवराज ससुराली पुगेका थिए भने फागुन १९ गते फर्केका थिए ।

अन्ततः विवाहको कार्यक्रम पश्चात बिदेशबाट आएका बिशिष्ट पाहुनाहरुले नवबिबाहित युवराज तथा युवराज्ञीलाई शुभकामनाको साथ नेपालको पनि प्रशंसा गर्दै फर्किएका थिए । यसरी फर्कने विशिष्ट पाहुना मध्य जर्मनका प्रधानमन्त्रीले जर्मन चान्सलरको बिशेष इच्छामा युवराज्ञीलाई दाइजो स्वरुप भक्तपुरको पूजारी मठ मर्मत गरि यसको चाबी युवराज्ञीलाई हस्तान्तरण गरेका थिए । पछि यहि योजना नै विस्तृत योजनामा परिणत भएर भक्तपुर बिकास परियोजनाको शुरुवात भएको थियो ।

युवराज विरेन्द्रको शुभविवाहको यो कार्ड संयुक्त राष्ट्र संघका महासचिव उ थान्तलाई पठाइएको थियो । तर अफसोस विवाह समारोहको समय फ्रान्सका राष्ट्रपतिको भ्रमण संयुक्त राष्ट्र संघको मुख्यालयमा तय भइसकेको हुँदा महासचिवले उपस्थित हुन नसक्ने जानकारी राजा महेन्द्रलाई पठाइसकेका थिए ।

प्रतिक्रिया