सोमबार, असार ९, २०८२

भ्रष्टाचार गर्न मन्त्री भएको होइन : पाण्डे

नेपालखोज २०७९ फागुन १ गते ७:०४

काठमाडाैं । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भनेका छन् । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाए ।

‘मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ’, उनले भने, ‘मलाई देशको माया र जनताको आशीर्वाद छ ।’ उनले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताए । यसपटक जनताले अनुभूति गर्ने गरी काम हुने उनको भनाइ छ ।

‘विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ’, उनले भने । मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताए ।

राप्रपा उपाध्यक्षसमेत रहेका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताए । उनले देशलाई परिवर्तनको अनुभव गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र काम गर्नसक्ने उल्लेख गरे । पार्टी सरकारमा गएपछि झन् थप मजबुत बनेको उनको भनाइ छ । रासस

प्रतिक्रिया