सिलिण्डर कसरी सुरक्षित राख्ने ?

काठमाण्डौं । मंगलबार ललितपुरको ग्वार्को इमाडोलमा मुर्तिको काम गर्नि क्रममा ग्यास सिलिन्डर विष्फोट हुँदा गायक समेत रहेका अमित रसाइली गम्भिर घाइते भए, उनको अहिले किर्तिपुर हस्पिटलमा उपचारको भइरहेको छ । बुधबार राति मात्रै ग्यास पड्किएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित चन्द्र भण्डारी र उनको आमा गम्भिर घाइते भए । उनीहरुको थप उपचारका लागि भारत पठाइदैँछ । खास ग्यास कस्तो अवस्थामा पड्किन्छ ? कस्ता हुन्छन् सावधानीको उपायहरु ? जानि राखौँ ।
सिलिण्डर कसरी सुरक्षित गराउने ?
नेपाल आयल निगमका अधिकारीहरुले दिएको टिप्सअनुसार भान्सामा ग्यासको जोखिम कम गर्ने उपाय यी हुन् ।
-डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने ।
-डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने ।
-भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने ।
-कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने ।
-ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने ।
-ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । सिलिण्डरबाट चुल्होसम्म पुर्याउने पाइप अनिवार्य फेर्ने ।
-खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने ।
-खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला राख्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने ।
दुर्घटना पहिचान र सतर्कता
सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यी हुन् ।
-ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
-ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
-ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ ।
-ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने ।
-ग्यासको अनावश्यक भण्डारण नगर्ने ।
प्रतिक्रिया