महाशिवरात्रिमा महामृत्युञ्जय जप, रुद्राभिषेक तथा शिवलिंगको अभिषेक !

महाशिवरात्रिमा महामृत्युञ्जय मन्त्रको जप महाशिवरात्रि भगवान् शिवलाई प्रसन्न तुल्याउने एउटा उत्तम अवसर हो । यो दिन भगवान् शिवको मन्त्र जप गरेर पनि आफ्नो मनोकामनाहरु पूरा गर्न सकिन्छ । महाशिवरात्रिका दिन महामृत्युञ्जय मन्त्रको जप निकै फलदायी हुने विश्वास रहँदै आएको छ । यो मन्त्रको जपबाट भय, रोग तथा दोष भाग्छ भने पापसमेत पखालिन्छ भन्ने मान्यता छ । महामृत्युञ्जय मन्त्र जप गर्ने आफ्नै विधि-विधान छ । महामृत्युञ्जय मन्त्र दुई प्रकारका छन् । पहिलो सम्पूर्ण महामृत्युञ्जय मन्त्र तथा अर्को लघु महामृत्युञ्जय मन्त्र ।
सम्पूर्ण महामृत्युञ्जय मन्त्र ॐ हौं जूं सः ॐ भूर्भुवः स्वः ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान्मृ त्योर्मुक्षीय मामृतात् ॐ स्वः भुवः भूः ॐ सः जूं हौं ॐ । लघु महामृत्युञ्जय मन्त्र ॐ जूं स माम् पालय पालय स: जूं ॐ । महामृत्युञ्जय मन्त्र जप विधि -महामृत्युञ्जय मन्त्र जप गर्दा मन, वचन तथा कर्म शुद्ध हुनुपर्छ । अरुका बारेमा नराम्रो सोच्ने वा अरुलाइ हानि पुर्याउने कार्य गर्नु हुँदैन । मनलाई शान्त राख्नुपर्छ ।
-महामृत्युञ्जय मन्त्रको उच्चारण शुद्ध हुनुपर्छ । मन्त्रको उच्चारण शुद्ध नभए उचित फल प्राप्त हुँदैन ।
-यदि शुद्ध रुपमा महामृत्युञ्जय मन्त्र जप गर्न सकिँदैन भने योग्य पण्डित वा ज्योतिषाचार्यको सहयोग लिन सकिन्छ । -रुद्राक्षको मालाबाटै महामृत्युञ्जय मन्त्रको जप गर्नुपर्छ । मन्त्र जपका बेला शिवलिंग वा शिवजीको तस्बिर आफ्नो सामुन्ने राख्नुपर्छ ।
-सम्पूर्ण महामृत्युञ्जय मन्त्रको जप सवा लाखपटक गरिन्छ भने लघु महामृत्युञ्जय मन्त्रको जप ११ लाखपटक गरिन्छ । -महामृत्युञ्जय मन्त्र जप गर्दा अनुहार पूर्व दिशातर्फ फर्किएको हुनुपर्छ । यस क्रममा धुप-दीप आदि बाल्नुपर्छ । महामृत्युञ्जय मन्त्र जपको लाभ महामृत्युञ्जय मन्त्रको जपबाट असाध्यै रोग, अकाल मृत्यु, शत्रु भय, राजदण्ड, ग्रह दोष, गृह कलेश, सम्पत्ति विवाद आदि बाट मुक्ति पाइन्छ । महाशिवरात्रिमा रुद्राभिषेक महाशिवरात्रिमा भगवान् शिवलाई प्रसन्न गर्न तथा आफ्नो मनोकामाना पुरा गर्न रुद्राभिषेक पनि गरिन्छ ।
रुद्राभिषेक गराउँदा कष्ट, रोग तथा दोषबाट त मुक्ति मिल्छ नै भगवान् शिवले पनि आफ्नो भक्त प्रति कृपा बर्साउँछन् । कतिपय समयमा हामीलाई काममा सफलता प्राप्त भइरहेको हुँदैन, मनमा निराशाले डेरा जमाउँछ । जब हाम्रा हर काम असफल हुन थाल्छन् तब त्रिकालदर्शी भगवान् शिवको शरण परेर हामी आफ्ना समस्याको समाधान खोज्न सक्छौं । रुद्राभिषेक के हो, यसबाट के लाभ हुन्छ तथा यसको महत्त्व कस्तो छ ? छोटकरीमा जानकारी लिउँ : रुद्राभिषेक रुद्र र अभिषेक दुई शब्द मिलेर बनेको छ । रुद्र भगवान् शिवकै एउटा नाम हो भने अभिषेकको अर्थ स्नान गराउनु हो ।
यसरी रुद्राभिषेकको अर्थ हुन्छ – भगवान् शिवको अभिषेक । महाशिवरात्रिको अवसरमा भगवान् शिवलाई प्रसन्न तुल्याउन रुद्राभिषेक गरिन्छ । साउन महिना वा जुनदिन शिवको बास हुन्छ त्यो दिन रुद्राभिषेक गराउन सकिन्छ । रुद्राभिषेकको लाभ
-रुद्राभिषेक गर्दा ग्रह दोष, रोग, कष्ट तथा पाप मेटिन्छ भन्ने विश्वास गरिन्छ । -संकटले घेरिएका बेला वा आफूलाई भयले जकडेका समयमा रुद्राभिषेक गरे समस्या समाधान हुन्छ ।
-धन, सम्पत्ति, वैभव, सुख आदिको प्राप्तिका लागि पनि रुद्राभिषेक गरिन्छ ।
-शत्रुमाथि विजय प्राप्त गर्न होस् वा अकाल मृत्युको भयमा होस रुद्राभिषेकबाट विशेष लाभ मिल्छ ।
-काममा सफलता, यश तथा कीर्ति प्राप्तिका लागि पनि रुद्राभिषेक गरिन्छ ।
-रुद्राभिषेक गरे भगवान् शिवले मानसिक तथा शारीरिक दु:खबाट मुक्ति प्रदान गर्छन् भन्ने मान्यता छ ।
रुद्राभिषेकका प्रकार
१. उत्तम स्वास्थका लागि भाङले रुद्राभिषेक
२. बिजनेसमा सफलताका लागि घ्युले रुद्राभिषेक
३. ग्रह दोष हटाउन गंगाजलले रुद्राभिषेक
४. धन सम्पति प्राप्तिका लागि उखुको रसले रुद्राभिषेक
५. घरमा सुख एवं शान्तिका लागि दुधले रुद्राभिषेक
६. शिक्षामा सफलताका लागि महले रुद्राभिषेक
७. सुख एवं खुशिले भरिपुर्ण जीवनका लागि शख्खरले रुद्राभिषेक
८. कलह , क्लेस आदि भगाउन दहीले रुद्राभिषेक
९. शत्रुलाई परास्त गर्न भस्मले ( खरानी ) रुद्राभिषेक
१०. नकारात्मकता हटाउन वर्षाको पानीले रुद्राभिषेक ।
शिवलिंगको अभिषेक ! महादेवलाई देवताहरुको पनि देव मानिन्छ । उनलाई यो सृष्टिको रचयिता तथा कर्तासमेत भनिन्छ । शिवलिंगको दुवै भागलाई सृष्टि निर्माणको केन्द्र पनि मानिन्छ । भनिन्छ सहि ढंगले भगवान शिवको आराधना गरे घरमा सुख-समृद्धिको वास हुन्छ र भाग्य पनि खुल्छ । शिवभक्तहरु हरेक सोमबारका साथै भगवान् शिवसँग जडिएका खास दिनहरुमा शिवलिंगको अभिषेक गर्छन् जस्तो महा शिवरात्रि, प्रदोष व्रत, श्रावण महिना तथा मासिक शिवरात्रि आदिमा । शिव लिंगको माथिल्लो भागले लिंग तथा तल्लो सपाट भागले योनिलाई संकेत गर्छ जसबाट यो संसारको उद्भभव भएको हो । यसैले भगवान शिवलाई संसारको पिता पनि मानिन्छ ।
शिवलिंगको अभिषेकसँग जोडिएको पौराणिक कथाअनुसार जब दैत्यहरुको आक्रमण पश्चात शिव जी ले देवी-देवताहरुको रक्षाका लागि विषपान गरेका थिई तब उनको शरीर को ताप र ज्वाला कम गर्न देवी-देवताहरुले उनलाइ दूध पिउन भनेका थिए । दूध पिएपछि नै शिव शान्त हुन सकेका थिए । त्यसैले शिवजीलाई शान्त र खुसी राख्न शिवलिंगमा दूधको अभिषेक गरिन्छ । शिव लिंगको सही अभिषेकका लागि सर्वप्रथम शिवलिंगमा पानी चढाउँदै १०८ पटक ओम नम: शिवायको जप गर्नुपर्छ । त्यसपछि एउटा भाँडामा काँचो दूध हालेर शिवलिंगमा चढाउनु पर्छ । त्यसपछि एकपटक फेरि पानी चढाएर दही अनि त्यसपछि फेरि पानी चढाउनुपर्छ । त्यसपछि घिउ, पानी र फेरि मह तथा पानी चढाउनुपर्छ । त्यसपश्चात शिवलिंगलाई सफा कपडाले पुछेर त्यसमाथि चन्दन, अक्षता, बेलपत्र, फल तथा नरिवल अर्पित गरी अन्त्यमा आरती गर्नुपर्छ ।
प्रतिक्रिया