आइतबार, असार १५, २०८२

बोर्डद्वारा धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ लागु

नेपालखोज २०७९ फागुन ५ गते १५:३४

काठमाडौं । धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ लागू भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्ने सम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढङ्गले शाखा कार्यालय संचालन गर्न बिहिबारबाट उक्त निर्देशिका कार्यान्वयनमा ल्याईएको हो ।

धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा सोही अनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएकोले नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ लागु गरेको बोर्डले जानकारी दिएको छ । निर्देशिका अनुसार धितोपत्र दलाल व्यवसायीहरुले शाखा खोल्दा प्रति शाखा एक करोड ५० लाखरुपैंयाँको दरमा चुक्ता पुँजी कायम गर्नुपर्ने छ ।

शाखाको हकमा मुख्या कार्यालय रहेको जिल्लाको हकमा भने कुनै पनि शाखा खोल्न अनुमती नदिने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार दलाल कम्पनीहरुले काठमाडौं उपत्यका बाहिर कम्तीमा तीनवटा शाखा खोलेपनि मात्र काठमाडौं उपत्यका भित्र शाखा खोल्न अनुमती दिईने छ तर नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा खोल्न भने बोर्डले स्वीकृती दिन सक्ने निर्देशिकामा उल्लेख छ । दलाल व्यवसायीले एक पटकमा एउटा मात्र शाखा खोल्नको लागि अनुमती माग गर्न सक्ने छन् भने अनुमती पाएको मितीले तीन महिनाभित्रमा शाखा खोलिसक्नु पर्ने छ ।

खोलिएको शाखाको हकमा भने कम्तीमा पनि सात दिन भित्रमा बोर्डलाई जानकारी दिनुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार शाखा खोल्नको लागि चाहिने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्ता पुँजी भन्दा बढी हुनुपर्ने छ भने नेटवर्थ सम्वन्धी बिवरण नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यता प्राप्त चार्टड एकाउन्टेन्टबाट प्रमाणित हुनुपर्ने छ ।

यसैगरी शाखा कार्यालयमा खटाईने कर्मचारीहरुलाई जिम्मेवारीमा पठाउनुअघि ग्राहक व्यवस्थापन, कारोबार, कारोबार प्रणाली, राफसाफ तथा फछ्र्योट, जोखिम व्यवस्थापन, धितोपत्र बजार सम्वन्धी प्रचलित कानुन, स्थापित संस्था तथा तिनीहरुको काम कर्तव्य र अधिकार लगायतका बिषयमा पर्याप्त जानकारी हुने गरी कार्यालयमा खटाउनु पर्ने छ । निर्देशिका अनुसार धितोपत्र दलाल व्यवसायी वा उक्त व्यवसायीको सञ्चालक वा कार्यकारी प्रमुखले धितोपत्र दलाल सम्वन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (१), (२), वा (३) वा सम्पती शुद्धीकरण निवारण सम्वन्धी प्रचलित कानुन बमोजिम सजाँय पाएको भएमा सजाँय पाएको मितीले एक वर्षसम्म सम्वन्धीत धितोपत्र दलालल व्यवसायीले शाखा कार्यालय खोल्न सक्ने छैन ।

शाखा कार्यालय खोल्न स्वीकृती प्राप्त गरी कार्यालय खोल्न नसकी बोर्डबाट स्वीकृती रद्ध भएको मितीले एक बर्षसम्म शाखा कार्यालय खोल्नका लागि निवेदन दिन सकिने छैन । सञ्चालनमा रहेको शाखा कार्यालय सञ्चालन गर्न नसक्ने व्यवस्था आई धितोपत्र दलाल व्यवसायीले त्यस्तो शाखा बन्द गर्न चाहेमा सञ्चालक समितीको निर्णयसहित सो को कारण खुलाई ढाँचा अनुसार निवेदन दिनु पर्ने छ । शाखा कार्यालयबाट भएको कारोबार, कारोबार प्रणाली, कारोबारको राफसाफ तथा फर्छर्योट, कानुन परिपालना लगायतका कार्यहरुको जिम्वेवारी तथा जवाफदेहिता मुख्य कार्यालयमा रहने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया