शनिबार, वैशाख १३, २०८२

शिवलिंग र शिव स्वरुप : शिव परिवारको महिमा !

नेपालखोज २०७९ फागुन ६ गते ७:२०

काठमाडाैं । सबै पर्वले कुनै न कुनै सन्देश लिएर आएका हुन्छन् । यस्ता सन्देशले हामीलाई हाम्रो सांस्कृतिक एवं प्राकृतिक कुराहरुको महत्त्व बुझ्न मद्दत पुर्याउँछन् । यसक्रममा महाशिवरात्रिले पनि आफ्नै प्रकारको सन्देश बोकेको छ जसले हामीलाई विपरीत परिस्थितिमा पनि परिवारका साथ रहने शिक्षा दिन्छ ।

देवताहरुका पनि देव महादेवमा अनुपम सामन्जस्य, अद्भभुत समन्वय र उत्कृष्ट सद्भभावको दर्शन लुकेको छ । हामिले भगवान् शिवका यी गुणबाट शिक्षा लिएर विश्व कल्याणका महान कार्य गर्न सक्छौ । यही यो परम पावन पर्वको दिव्य सन्देश हो । शिव अर्धनारीश्वर भएर पनि काम विजेता हुन , गृहस्थ भएर पनि परम विरक्त हुन । भगवान् शिव हलाहल पान गरेका कारण नीलकण्ठ भएर पनि विषको प्रभावबाट मुक्त छन् । उग्र भए पनि सौम्य छन् अकिंचन भए पनि सर्वेश्वर छन् ।

भयंकर विषधर नाग र सौम्य चन्द्रमा दुवै शिवका आभूषण हुन् । उनको मस्तकमा तेस्रो आँखारूपी प्रलयकालीन अग्नि र टाउकामा परम् शीतल गंगा छन् । शिरबाट निस्किएकी गंगाको धाराले पृथ्वीका प्राणी-वनस्पति सबैको कल्याण गरिरहेको छ । वृषभ भोले बाबाको सवारी ह‍ो भने सिंह माता भगवतिको शक्तिसालि सवारी हो । मयुर कार्तिकेयको सवारी हो भने मुसा गणपतिको सवारी हो । भगवान शिवको यो परिवारले हामीलाई आपसी बैरभाव बिर्सिएर प्रेम पुर्वक एक साथ रहने र समस्त विरोधी भाव बीच सुन्दर समन्वयको शिक्षा दिन्छ । शिवको यो परिवारबाट हामिले विपरीत स्वभावमा पनि सामन्जस्य कायम राख्ने अद्भभुत शिक्षा प्राप्त गर्दछौं ।

के हो शिवलिंग ?

श्रीविग्रह शिवलिंग ब्रह्मान्ड एवं निराकार ब्रह्मको प्रतीक भएका कारण सबैका लागि पूजनीय छन । जसरि निराकार ब्रह्म रूप, रंग, आकार आदि रहित हुन्छ शिवलिंग पनि त्यस्तै हो । जसरि गणितमा शून्य केहि नभए पनि सबै कुरा हो । जसरि शून्यले कुनै पनि अंकमा जोडिएर उक्त अंकको मूल्य दस गुणा बढनइदिन्छ त्यसै गरि शिवलिंगको पूजाले शिव दाहिना भै अनन्त सुख-समृद्धि प्राप्त हुन्छ ।

हिन्दुहरुको लागि अत्यन्तै आदरणीय रहेको छ । शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका एक अचम्मको स्वरुप हाम्रो दिमागमा आउँछ । आखीर ती शिवलाई किन यस्तो रुवरुपमा चर्चा गरिन्छ भन्ने हाम्रो खुल्दुली रहन्छ । शिव शब्दको अर्थ कल्याण हो । शिव कल्याणकारी भगवान् हुन् । उनको यस्तो दिगम्बर स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण रहेको छ ।

शिव स्वरुपको अर्थ के हो ?

शिवजीको जटालाई वायुमण्डलको रुपमा बुझ्नुपर्दछ । शिवको टाउकोको चन्द्रमालाई मनको प्रतीक मानिन्छ । डमरुलाई ध्वनी एवं संगीतको प्रतिक हो । बाघको छाला हिंसाको प्रतिरोधको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई निषेध गरिएको विशिष्ट अर्थ हो । यी प्रतिकहरुको आफ्नै छुट्टै पहिचान छ ।

शिवजीको आकृतिमा तीन वटा आँखा रहेका हुन्छन् । मानवको जस्तै दुई आँखा लोभ र तृष्णाको प्रतिक हो भने बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । जो ज्ञानको प्रतिक हो । त्रिसुलमा तीनवटा तीखा चुच्चाहरु हुन्छन् । जसलाई शूल भनिन्छ । पहिलो उदयको प्रतिक हो, दोस्रो संरक्षणको प्रतिक र तेस्रो विनासको प्रतिक हो ।

अन्तिममा शिवजीको गलाको सर्प जो वायुमण्डललको परिशुद्धतासँग जोडिएको छ । सर्पले विषाक्त हावालाई खाइदिन्छ र वायुमण्डललाई स्वच्छ पारिदिन्छ । शिवजीको वाहन साँडे बलको प्रतिक हो । उनको खाना विष, भाङ र धतुरो मृतसञ्जीवनी औषधिको प्रतिक हो । जसबाट विभिन्न ओखती बनाउन सकिन्छ ।

प्रतिक्रिया