सोमबार, असार ९, २०८२

कारबाहीमा पर्ने डरले दुर्गा प्रसाईंले छाडे एमाले

नेपालखोज २०७९ फागुन ७ गते २०:१८

काठमाडौं । राजतन्त्रको वकालत र पक्षमा र्याली समेत निकालेका मेडिकल माफियाको रुपमा परिचित एमालेका नेता दुर्गा प्रसाईले एमाले छाडेका छन् ।

फागुन १ मा झापाको मेची पुलबाट पूर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारका सदस्यलाई अतिथि बनाएर राष्ट्रियताका लागि भन्दै मेची–महाकाली यात्रा सुरु गरेपछि एमालेले उनलाई पार्टी नीतिविपरीत गतिविधि गरेको आरोपमा निष्कासन कारबाहकी गर्ने तयारी गरेको थियो ।

कारबाहीलागि एमाले झापा जिल्ला कमिटीले केन्द्री कमिटीमा पठाएइसेकेको छ । सोही आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही अन्तिम तयारीमा पुगेकै बेला उनले आइतबार पार्टी छाडेको घोषणा गरेका छन् । उनी एमालेमा उद्योग विभाग उपप्रमुख थिए ।

उनले आज झापामा संचारकर्मीहरुसँग कुरा गर्दै आफूले एमाले छाडेको बताए । आफू नेताहरुको मनमा नभई जनताको मनमा बस्ने सोचसाथ जनतामाझ जाने उनले बताए ।

पछिल्लो समयमा उनले संचारमाध्यममार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद खोक्रो भएको भन्दै चर्को आलोचना गर्दैै आएका छन् । उनले ओलीलाई ‘हजूर बा’ भनेर सम्बोधन गर्ने गरेका छन् ।

‘मैले हजूर बालाई अहिले सरकारमा नजानुस् भनेकै हुँ, नमान्दा अहिले हेर्नुस् त राजनीतिक अवस्था के भइरहेको छ ? सरकार अहिले छाड्ने कि भोलि भन्नेमा एमाले पुगेको छ’ उनले संचारमाध्यममा खुलेर बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र्र शाहले प्रजातन्त्र दिवसको अवसरमा आइतबार दल र राजसंस्था मिलेर अगाडि बढ्न विलम्ब गर्न नहुने धारणा राखेका थिए । तर आजै मात्र मोरङ पुगेका ओलीले भने पूर्वराजाको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया