शुक्रबार, वैशाख १२, २०८२

सुवास रेग्मी किन परे पक्राउ ?

नेपालखोज २०७९ फागुन ८ गते १३:५४

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । थाइल्याण्डबाट नेपाल ओर्लेका उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीको केन्द्रीय साइबर ब्युराका एसएसपी नवीन्द्र अर्यालले बताए ।

विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने तयारी गरिएको छ । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।

उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक–गायिकासँग उनको विवाद देखिएको छ ।

‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो । गीतको रिमेकलाई लिएर खरेल र रेग्मीबीच विवाद चलेको थियो ।

रेग्मी पक्राउ परेपछि उनी समर्थक कलाकर्मीहरुले रिहाइको माग गर्दै सामाजिक सञ्जालमा तताएका छन् ।

प्रतिक्रिया