शनिबार, वैशाख १३, २०८२

दाँत फुकाल्ने दुःखजस्तै राजनीति

नेपालखोज २०७७ जेठ १ गते १०:४५

एक व्यक्ति दाँत दुखेर हैरान भएछ । देखाउन डेन्टिस्टकहाँ गएछ । ‘तपाईंको दाँत किराले खाएको छ, फुकाल्न’पर्छ’, डेन्टिस्टले भनेछ, ‘अरू कुनै उपाय छैन । ऊ फुकाल्न तयार भएछ । डेन्टिस्टले सनासोले च्यापेर दाँत फुत्त तानेछ । तर, अचनाक दाँत मुखमै जिब्रोमाथि झरेछ । आत्तिएको बिरामीले घुटुक्क पारेछ । तर त्यो दाँत निलिएछ घाँटीमै अड्किएछ ।

डेन्टिस्टले टर्च बालेर हेरेछ । दाँत घाँटीमा देखियो । उसले भनेछ, ‘अब यो मेरो एरिया पार गरेर घाँटीमा प’गिसक्यो । म’ख मात्र मेरो क्षेत्र हो । तपाई बरु चाँडै घाँटीसम्बन्धी डाक्टर (ईएनटी विशेषज्ञ) कहाँ जानुहोस् ।’

विरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो । ऊ हतारिएर ईएनटी विशेषज्ञ कहाँ पुगेछ । महँगो टिकट काटेर भित्र छि¥यो । डाक्टरले आँ गर्न लगायो । संयोगवश त्यही बेला दाँत खत्रक्क पेटतिर खसेछ ।

‘मेरो एरियाबाट पार भयो । अब पेटको विशेषज्ञकहाँ जानुहोस् । मबाट पार लाग्दैन यो’, ईएनटी विशेषज्ञले भनेछ र पन्छिएछ । पेट रोगको विशेषज्ञ खोज्दै बिरामी पेटमा दाँत बाकेर भौतारिएछ । बल्ल– बल्ल भेटेर भित्र छिरेछ । डाक्टरले एक्स–रे, भिडियो एक्स–रे आदि गर्न लगाएछ । सबै सकिएपछि थाहा भएछ– दाँत त मलद्वारको मुखमा झरिसकेछ ।

अनि, डाक्टरले भनेछ, ‘हेर्नुहोस्, दाँत मेरो एरिया पार भइसक्यो । अब मलद्वार रोग विशेषज्ञ कहाँ जानुहोस् । ’
ऊ त्यहाँ पनि पुगेछ । मलद्वार रोग विशेषज्ञले टर्च बालेर मलद्वारभित्र हेरेछ । दाँत देखिएछ । त्यो देखेर डाक्टरले आत्तिदै भनेछ, ‘यहाँ त दाँत पो छ । यो मेरो विभागमा परेन । दन्त रोग विशेषज्ञकहाँ जानुहोस्।’

नेपालका राजनीतिक दलहरू ठ्याक्कै यस्तै हालतमा छन् । जनताको सेवामा केन्द्रित हनुपर्ने उनीहरू जनतालाई नै भौतारिन बाध्य पारिरहेका छन् । अहिले देशमा कोरोना महामारी छ । सरकारले लकडाउन गरेको छ । हुनेखानेहरू घरमा मिठोमिठो पकाएर खाइरहेका छन् । नहुनेहरू सडकमा छन् ।

अरू बेला भोट माग्दै तिनै जनताकहाँ पुग्ने सबै दलका कार्यकर्ता डरले कता दुलामा पसेका छन् । समस्यामा परेका सर्वसाधारणलाई सरसहयोग गर्नु पर्ने दायित्व ती राजनीतिक प्राणीको होइन र ?

यस्तो परिस्थितिमा राजनीतिक दलहरू सुरक्षित परिचालन हुनुपर्ने थियो । पिर मर्का बुझ्न ती अग्रसर हुनुपथ्र्यो । जनचेतनाका संवाहक बन्नु पथ्र्यो । कोरोना के हो, त्यसबाट कसरी जोगिन सकिन्छ भन्नेमा राजनीतिक दलका कार्यकर्ता परिचालन गरेको भए धेरै सहज हुन्थ्यो ।

दल भनेको जनताका प्रेमका प्रतीक हुनुपर्छ । अप्ठ्यारो परिस्थितिमा तिनको जिम्मेवारी खड्किन्छ । देशमा त्यो परिस्थिति अहिले आएको छ । मलाई कोरोना सर्छ, यो काम त स्वास्थ्यकर्मीको हो भन्दै पन्छाउनु भनेको मैदानमा पछि पर्नु हो ।

सडकमा खान नपाएकालाई हेर्ने काम सामाजिक संस्थाहरूको हो भनेर पन्छाउनु गैरजिम्मेवारी हो । सबैभन्दा ठूलो सञ्जाल र संयन्त्र भएका राजनीतिक दल नै हुन् । एउटा दाँत निकाल्ने विषय आधा दर्जन डाक्टरकहाँ पठाउँदा पनि पार नलागेजस्तै राजनीतिमा पन्छाउने प्रवृत्ति हावी हुनु हुँदैन । बेलैमा सोचौं । नत्र पछि परिनेछ ।

प्रतिक्रिया