चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९÷८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उनले बताए । निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो ।
अन्य कालगतिले मरेका हुन् । सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन् । चोरी सिकारीले गैँडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ ।
यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ । गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैँडा मरेका थिए । निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा चार गैँडा मरेका तिवारीले जानकारी दिनुभयो । गत आवमा चोरी–सिकारीबाट दुई गैँडा मरेका थिए । रासस
प्रतिक्रिया