सोमबार, असार ९, २०८२

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा चौधरीको नाम समावेश गराउन माग

नेपालखोज २०७९ फागुन ११ गते १३:२२

काठमाण्डौं । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए ।

मतदाता नामावलीमा दाबी विरोधका लागि आज अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो । कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ । प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपराह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेशशभा सदस्यले मतदान गर्न पाउने छन् । मतदान फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा हुने जनाइएको छ ।

प्रतिक्रिया